
नेपाल राष्ट्र बैंकले बैङ्किङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि २० अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैङ्क ऋणपत्र’ अनलाइन बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो।
राष्ट्र बैङ्कका अनुसार उक्त ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ। बोलकबोलमा सहभागी बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड रुपैयाँदेखि त्यसपछि ५ करोड रुपैयाँका गुणकमा कुल आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।
बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने सहभागी संस्थाले फरक–फरक ब्याजदरमा समेत प्रस्ताव पेस गर्न सक्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले प्राप्त बोलपत्रलाई न्यून ब्याजदरदेखि उच्च ब्याजदरको क्रममा मूल्याङ्कन गरी आह्वान गरिएको रकम वा समितिले निर्धारण गरेको बाँडफाँड सीमासम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गर्ने जनाएको छ। सोही एकल ब्याजदरमा उक्त दर वा सोभन्दा कम ब्याजदरमा बोलपत्र पेस गर्ने सहभागी संस्थालाई ऋणपत्र बाँडफाँट गरिने व्यवस्था रहेको केन्द्रीय बैंकले स्पष्ट पारेको छ।
राष्ट्र बैंकले २० अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
