
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको अवितरित ६३ हजार ८४७ कित्ता हकप्रद शेयर पुनः लिलामीमार्फत बिक्रीमा राखेको छ। यस पटक उक्त शेयरमा सबै इच्छुक व्यक्ति तथा संस्थाले आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यस अघि कम्पनीले जेठ २९ गतेदेखि असार ८ गतेसम्म विद्यमान संस्थापक शेयरधनीलाई लक्षित गरी लिलामी प्रक्रिया सञ्चालन गरेको थियो। तर, सो अवधिमा कुनै पनि आवेदन नपरेपछि बाँकी रहेको शेयर सबै लगानीकर्ताका लागि खुला गरिएको हो।
इच्छुक आवेदकले असार २५ गतेदेखि साउन १ गतेसम्म बैङ्किङ समयभित्र आफूले खरिद गर्न चाहेको शेयर सङ्ख्या र प्रस्तावित मूल्य उल्लेख गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरेको छ। आवेदन दिँदा कम्तीमा १ हजार कित्ता र त्यसभन्दा माथि १० ले भाग जाने सङ्ख्यामा वा उपलब्ध सम्पूर्ण शेयरका लागि बोलपत्र पेस गर्न सकिने व्यवस्था छ।
बोलपत्र फाराम बिक्री प्रबन्धक एलएस क्यापिटलको कमलपोखरीस्थित कार्यालयका साथै लक्ष्मी सनराइज बैङ्कका विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढीस्थित तोकिएका शाखा कार्यालयबाट प्राप्त तथा बुझाउन सकिने कम्पनीले जनाएको छ।
युनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद शेयर पुनः लिलामीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
