मंसिर अन्त्यसम्म वाणिज्य बैंकहरुकाे नाफा २८ अर्ब माथि, कुन बैङ्कको नाफा कति ? | Commercial Banks of Nepal

commercial banks profit in nepal


ज्ञानमाण्डू। चालु आर्थिक वर्षको मंसिरसम्म आइपुग्दा वाणिज्य बैङ्कहरूले २८ अर्ब रुपैयाँ अधिक नाफा कमाउन सफल भएका छन्। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मंसिर महिनासम्म २७ वटा वाणिज्य बैङ्कहरूले २८ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो महिना अर्थात् कात्तिकमा २७ वटा वाणिज्य बैङ्कहरूले जम्मा २३ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका थिए। कात्तिकको तुलनामा मंसिरमा नाफा ४ अर्ब ६७ करोड रुपैयाँ अर्थात् १९.८८ प्रतिशतले वृद्धि भएको देख्न सकिन्छ। त्यस्तै, सञ्चालनमा रहेका सम्पूर्ण वाणिज्य बैङ्कहरूले औसतमा १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

मंसिर अन्त्यसम्म आइपुग्दा सर्वाधिक नाफा कमाउन एनआईसी एशिया बैङ्क अगाडि, कुन बैङ्कको नाफा कति ?

चालु आर्थिक वर्षको मंसिरसम्ममा २७ वटा वाणिज्य बैङ्कहरू मध्ये सर्वाधिक नाफा कमाउने वाणिज्य बैङ्क एनआईसी एशिया बैङ्क लिमिटेड भएको छ । एनआईसी एशिया बैङ्कले २ अर्ब नाफा कमाएको देखिन्छ जुन पछिल्लो महिना अर्थात् यही आर्थिक वर्षको कात्तिकको तुलनामा २५.२६ प्रतिशतको वृद्धि हो। गत महिना बैङ्कले १ अर्ब ५९ करोड मुनाफा आर्जन गरेको तथ्याङ्कले जनाएको छ।

यसै गरी एनआईसी एशिया बैङ्क पश्चात सर्वाधिक नाफा आर्जन गर्न ग्लोबल आइएमई बैङ्क र नबिल बैङ्क सफल भएका छन्। ग्लोबल आइएमई बैङ्ककाे नाफा १ अर्ब ९६ कराेड रहेकाे छ भने नबिल बैङ्ककाे नाफा १ अर्ब ८९ कराेड रहेकाे छ ।

समीक्षा अवधिमा सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैङ्कले १ अर्ब ८८ कराेड नाफा कमाएकाे छ । यस अवधिमा १ अर्ब वा सो भन्दा बढी नाफा कमाउन कुल ११ वाणिज्य बैङ्कहरू सफल भएका छन्। प्राइम कमर्सियल बैङ्कले सोही अवधिमा १ अर्ब ५० करोड नाफा गर्दा प्रभु बैङ्कले १ अर्ब ३७ करोड, एनएमबि बैङ्कले १ अर्ब ३६ करोड, सिद्धार्थ बैङ्क र नेपाल इन्भेष्टमेन्ट बैङ्कले १ अर्ब ३३ करोड, मेगा बैङ्कले १ अर्ब २६ करोड र नेपाल बैङ्कले १ अर्ब ३ करोड मुनाफा आर्जन गरेको तथ्याङ्कले देखाएको छ।

commercial banks

झन्डै अर्ब नाफा गरेको सिटिजन्स बैङ्कले यस अवधिमा ९९ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ९० करोड अधिक नाफा कमाएका छन्। केन्द्रीय बैङ्कबाट उपलब्ध तथ्याङ्कलाई आधार मान्दा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा नाफा कमाएका अधिकांश वाणिज्य बैङ्क मध्ये १५ वटा बैङ्कहरूको मुनाफा औसत भन्दा धेरै रहेको देखिन्छ भने सोही वर्गका बाँकी अन्य संस्थाले समीक्षा अवधिमा औसत भन्दा कम नाफा कमाएको देखिन्छ।

यस आर्थिक वर्षको मंसिर मसान्तसम्म माछापुच्छ्रे बैङ्कले ८७ कराेड कमाउँदा, कुमारी बैङ्क र सानिमा बैङ्कले ८६ कराेड, लक्ष्मी बैङ्कले ७८ करोड, एभरेष्ट बैङ्कले र नेपाल क्रेडिट एण्ड कमर्स बैङ्कले ७५ करोड, सुन्राइज बैङ्कले ७० करोड, नेपाल एसबिआई बैङ्क र कृषि विकास बैङ्कले ६५ करोड, हिमालयन बैङ्कले ५६ कराेड, नेपाल बङ्गलादेश बैङ्कले ५४ करोड, बैङ्क अफ काठमाडौँले ४९ करोड, सिभिल बैङ्कले ४१ करोड र सेञ्चुरि कमर्सियल बैङ्कले ४० करोड रुपैयाँ नाफा कमाएका छन् ।

समीक्षा अवधिमा सर्वाधिक कम नाफा गर्ने वाणिज्य बैङ्क सेञ्चुरि कमर्सियल बैङ्क लिमिटेड भएको छ। उक्त बैङ्कले यस अवधिमा ४० करोड २६ लाख नाफा गरेको छ जुन पछिल्लो महिना अर्थात् यही आर्थिक वर्षको असोज महिनाको तुलनामा २८.०९ प्रतिशतको वृद्धि हो भने कात्तिक महिनाकाे तुलनामा कृषि विकास बैङ्कले ६.७७ प्रतिशतले नाफा घटाएकाे तथ्याङ्कले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x