घट्दो बजारमा पनि आकर्षक प्रतिफल दिने उत्कृष्ट १० ब्लु चिप कम्पनीहरूले कति दिँदै छन् लाभांश ?

BLUE-CHIP-COMPANY

ज्ञानमाण्डू।शेयर बजारमा लगानीको रणनीति तयार गर्ने क्रममा लगानीकर्ताहरूले आफ्नो पोर्टफोलियोमा छुटाउनै नहुने कम्पनीहरूको एक श्रेणी ब्लु चिप कम्पनीको हुने गर्दछ । लामो समयदेखि नाफा कमाउँदै आएका तथा लगानीकर्ताहरूलाई उच्च प्रतिफल (लाभांश) प्रदान गर्दै आएका कम्पनीहरूको शेयरलाई ब्लु चिप शेयर भनिने गरिन्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस्ता कम्पनी लगानीकर्ताप्रति तुलनात्मक रूपमा बढी जबाफदेही हुने गर्दछन् । तुलनात्मक रूपमा यस्ता कम्पनीहरूको पारदर्शी आचरण, जिम्मेवारीको स्पष्ट विभाजन, प्रतिफलको न्यायोचित वितरण र संस्थागत सुशासन अन्य कम्पनीहरूको तुलनामा उच्च हुने गर्दछ। लगानीकर्ताको प्रमुख रोजाइमा पर्ने यस्ता कम्पनीको शेयरहरूको बजार मूल्य प्रायः बढिरहेकै भेटिने गरिन्छ ।

कुनै पनि कम्पनीमा लगानी गरे पश्चात् लगानीकर्ताले दुई प्रकारका लाभको अपेक्षा गरेका हुन्छन् । अल्पकालीन लगानीकर्ताले पुँजीगत लाभमा विश्वास गर्दछन् भने दीर्घकालीन लगानीकर्ताले कम्पनीले दिने प्रतिफलमा विश्वास गर्ने गर्दछन् । यद्यपि पुँजीगत लाभ होस् वा उत्कृष्ट प्रतिफलको आशामा दीर्घकालीन लगानीको अवसर खोज्ने लगानीकर्ता, दुवैको रोजाइमा प्राय ब्लु चिप कम्पनीहरू नै हुने गर्दछन्।

नेप्सेमा सूचिकृत तथा कारोबारमा सक्रिय कुल २०० अधिक इक्विटी मध्ये लगानीकर्ताको रोजाइका लागि उत्कृष्ट मानिने १० यस्ता कम्पनीहरूका बारेमा हामीले यहाँ चर्चा गर्नेछौँ। यी कम्पनीहरूको नेपालको पुँजी बजारसँग विगत लामो समय देखिको इतिहास रहेको छ। विगत लामो समय देखि निरन्तर आकर्षक लाभांश वितरण गर्दै आएको प्रमुख कारण र राम्रो मुनाफा आर्जनका साथै सक्षम व्यवस्थापनको प्रतिफल स्वरूप यी कम्पनीले शेयरधनीको विश्वास जित्न सफल भएका छन्। बोटलर्स नेपाल तराई, डिप्रोक्स लघुवित्त, स्वावलम्बन लघुवित्त, हिमालयन डिस्टिलरी, निर्धन उत्थान लघुवित्त, छिमेक लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैङ्क, नेपाल दूरसञ्चार र युनिलिभर नेपाल लिमिटेड अन्य कम्पनीको तुलनामा लगानीकर्ताको प्रथम रोजाइमा पर्ने गरेका कम्पनीहरू हुन्।
ब्लु चिप मानिने यी कम्पनीहरुले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनिहरुलाई कति लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएका छन् भन्ने विषयमा हामीले यहाँ छलफल गर्ने छौँ।




ब्लु चिप मानिएका यी १० कम्पनीहरू मध्ये ४ यस्ता कम्पनीले भने गत आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हालसम्म कुनै लाभांश प्रस्ताव गरेका छैनन्। बोटलर्स नेपाल तराई, हिमालयन डिस्टिलरी, नेपाल दूरसञ्चार र नेपाल लाइफ इन्स्योरेन्स बाहेक अन्य ६ कम्पनीले भने गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरुका लागि लाभांश प्रस्ताव अघि बढाइसकेका छन्।

तुलनात्मक रूपमा हेर्दा उल्लेखित कम्पनीहरू मध्ये गत सालको मुनाफाबाट सर्वाधिक लाभांश वितरण गर्ने कम्पनी युनिलिभर नेपाल लिमिटेड रहेको। कम्पनीले गत आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ६५० प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने भएको छ। विगत लामो समय देखि निरन्तर आकर्षक लाभांश वितरण गर्दै आएको युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष ७६/७७ मा १०० प्रतिशत, आर्थिक वर्ष ७५/७६ मा ७७० प्रतिशत, आर्थिक वर्ष ७४/७५ मा ७७० प्रतिशत र आर्थिक वर्ष ७३/७४ मा १२ सय ७० प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको हो ।

५ वर्षको अवधिमा युनिलिभर नेपाल लिमिटेडले करिब ३५०० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ६५० प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि सारेको युनिलिभर नेपाल लिमिटेडको शेयर धनी दर्ता किताब बन्द गत असोज २५ गते समापन भइसकेको छ।


त्यस्तै, जीवन बीमा कम्पनीहरू मध्ये लिडर र ब्लु चिप मानिएको स्टक नेपाल लाइफ इन्स्योरेन्स हो। इन्स्योरेन्सले आर्थिक वर्ष ७७/७८ र ७६/७७ गरी दुई आर्थिक वर्षको लाभांश वितरण गर्न बाँकी रहेको छ। बीमा कम्पनीहरुको एक्चुअरी मूल्याङ्कन पश्चात् मात्र वास्तविक वित्तिय तथ्यांक आउने हुँदा उक्त कम्पनीहरुले एक वर्षको अवधि पश्चात् मात्र आफ्नो लाभांश प्रस्ताव गर्ने गरेका छन्।


आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष ७५/७६ सम्म नेपाल लाइफ इन्स्योरेन्सले प्रदान गरेको लाभांशलाई हेर्दा इन्स्योरेन्सले निरन्तर आकर्षक लाभांश शेयर धनीलाई दिँदै आएको देख्न सकिन्छ । ३ वर्षको सो अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले १७० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको तथ्याङ्कले देखाएको छ। विगतमा राम्रो प्रतिफल दिँदै आएको यस इन्स्योरेन्सले आ.व ७७/७८ र ७६/७६ का लागि पनि राम्रो लाभांश वितरण गर्ने आशा धेरै लगानीकर्ताको रहेको छ। यद्यपि कम्पनीले लाभांश प्रस्ताव भने अझै गरेको छैन।

यस्तै, विगतमा निकै आकर्षक प्रतिफल दिइरहेको तर पछिल्ला केही वर्षमा लाभांश वितरण गर्न असफल रहेको ब्लु चिप कम्पनी बोटलर्स नेपाल तराई पनि हो। आर्थिक वर्ष ७४/७५ र सो भन्दा अधिक वर्षहरूमा कम्पनीले आफ्ना शेयरधनिहरुलाई निकै राम्रो प्रतिफल प्रदान गर्दै आइरहेको थियो। औसतमा ३० प्रतिशत भन्दा धेरै लाभांश दिने क्षमता भएको उक्त कम्पनीले लाभांश वितरणलाई निरन्तरता दिन्छ कि दिँदैन भन्ने प्रश्न भने हरेक लगानीकर्ताको मन मस्तिष्कमा उब्जिन थालेको छ।

त्यसै गरी सरकारी स्वामित्व रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र हिमालयन डिस्टिलरीले पनि आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट गत सालको लाभांश तोक्न भने बाँकी नै रहेको छ। आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष ७६/७७ सम्म दुवै कम्पनीले प्रदान गरेको लाभांशलाई हेर्दा उक्त कम्पनीहरुले निरन्तर आकर्षक लाभांश शेयर धनीलाई दिँदै आएको देख्न सकिन्छ । ४ वर्षको अवधिमा नेपाल दूरसञ्चार कम्पनीले १९५ प्रतिशत र हिमालयन डिस्टिलरीले कुल २९२.१० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको तथ्याङ्कले देखाएको छ। नगद लाभांशलाई प्राथमिकता दिने यी दुई कम्पनीले राम्रो लाभांश वितरण गर्ने प्रति धेरै लगानीकर्ता आशावादी देखिन्छन्।
पुँजीको तुलनामा आकर्षक मुनाफा गर्ने शेयर बजारको एक क्षेत्र लघुवित्त कम्पनीहरू पनि हुन्। अन्य क्षेत्र भन्दा चुक्ता पुँजी थोरै भए तापनि मुनाफा आकर्षक हुँदा लघुवित्त क्षेत्र लगानीकर्ताको रोजाइमा पर्दै आएको छ। यस उपसमूह मध्ये उत्कृष्ट मानिएका डिप्रोस्क लघुवित्त, स्वावलम्बन लघुवित्त, निर्धन उत्थान लघुवित्त र छिमेक लघुवित्तलाई लगानीकर्ताले सधैँ ब्लु चिप स्टक मान्दै  आएका छन्।

उक्त चार लघुवित्तले गत आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना कायम शेयरधनिहरुलाई लाभांश वितरण प्रस्ताव अघि सारी सकेका छन्। यी चार मध्ये गत आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट सर्वाधिक लाभांश प्रस्ताव निर्धन उत्थान लघुवित्तले गरेको छ। लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट २९.५ प्रतिशतले हुन आउने बोनस शेयर र १.५५२६ प्रतिशतले हुन आउने नगद लाभांश शेयरधनिहरु माझ वितरण गर्ने प्रस्ताव अधि बढाएको हो। त्यस्तै, सोही अवधिका लागि छिमेक लघुवित्तले २७ बोनस र ३ नगद गरी ३१ प्रतिशत लाभांश, स्वावलम्बन लघुवित्तले १९ बोनस र ६ नगद गरी २५ प्रतिशत लाभांश र डिप्रोस्क लघुवित्तले २० बोनस र १.०५३ नगद गरी जम्मा २१.०५३ प्रतिशत लाभांश वितरण प्रस्ताव अधि बढाएको हो।

आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष ७७/७८ सम्म उल्लेख गरिएका चार वटै लघुवित्तले प्रदान गरेको लाभांशलाई हेर्दा उक्त कम्पनीहरुले निरन्तर आकर्षक लाभांश शेयर धनीलाई दिँदै आएको देख्न सकिन्छ । ५ वर्षको सो अवधिमा निर्धन उत्थान लघुवित्तले २०८.०८ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको तथ्याङ्कले देखाएको छ। समीक्षा अवधिमा छिमेक लघुवित्तले कुल १८८.३२ प्रतिशत, स्वावलम्बन लघुवित्तले १५३.४२ प्रतिशत र डिप्रोस्क लघुवित्तले १३७.०५ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको तथ्याङ्कले देखाएको छ।

Share bazar news

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x