नेपालको कुल वस्तु निर्यातले पेट्रोलियम पदार्थ पनि किन्न नपुग्ने

-विक्रम भट्टराई
ज्ञानमाण्डू।चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा नेपालको कुल वस्तु निर्यात ७ दशमलव ८ प्रतिशतले वृद्धि भई रु.८० अर्ब ७८ करोड पुगेको छ । तर सो निर्यातले नेपाललाई आठ महिनाका लागि आवश्यक पर्ने पेट्रोलियम पदार्थ आयात गर्न नेपाल असक्षम रहेको देखाउँदछ ।

आर्थिक वर्षको पहिलो आठ महिनाको तथ्यांक अनुसार नेपालले आयात गर्ने प्रमुख वस्तु पेट्रोलियम पदार्थ रहेको छ। नेपालले चालु आर्थिक वर्षको फागुन महिनासम्म ९६ अर्व ८० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिसम्म नेपालले १२७ अर्व ८२ करोड बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ अर्व १ करोड रुपैयाँ अर्थात २४ दशमलव ३ प्रतिशतको गिरावट हो। २४ दशमलव ३ प्रतिशतको गिरावट आएको पेट्रोलियम पदार्थ आयात, चालु आर्थिक वर्षको आठ महिनाको कुल वस्तु निर्यातको तुलनामा १६ अर्व २ करोड रुपैयाँ अधिक रहेको तथ्यांकले  देखाउँदछ । 

आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु व्यापार घाटा १ दशमलव ६ प्रतिशतले वृद्धि भई रु.८६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४ दशमलव ३ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु आयात २ दशमलव १ प्रतिशतले वृद्धि भई रु.९४३ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २ दशमलव ६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः ७ दशमलव १ प्रतिशत र १२ दशमलव १ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपूजा लगायतका वस्तुको आयात घटेको छ ।

समिक्षा अवधिमा नेपालले आयात गर्ने प्रमुख ६ वस्तुहरु पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुजा, एम.एस. बिलेट, चामल र कच्चा सोयाविन तेल रहेका छन् । गत आर्थिक वर्षको फागुन महिनाको तथ्यांकको तुलनामा चालु आर्थिक वर्षको फागुन महिनासम्म यी प्रमुख ६ वस्तुहरु प्राय सबैको आयातमा वृद्धि आएतापनि पेट्रोलियम पदार्थ र अन्य मेसिनरी तथा पार्टपुजाको आयातमा भने कमि आएको देखिन्छ । यता, कच्चा सोयाविन तेलको आयातमा भने अधिक वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा नेपालले आयात गर्ने प्रमुख वस्तु पेट्रोलियम पदार्थ र अन्य मेसिनरी तथा पार्टपुजाको आयातमा क्रमशः २४ दशमलव ३ प्रतिशत र १० दशमलव ८ प्रतिशतको गिरावट आएको छ भने नेपालले आयात गर्ने अर्को प्रमुख वस्तु कच्चा सोयाविन तेलको आयातमा भने ११९ दशमलव ८ प्रतिशतको अधिक वृद्धि भएको देखिन्छ।

तथ्यांक स्रोत : नेपाल राष्ट्र बैंक 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x