एक वर्षभित्रै तामाखानी सञ्चालनमा आउने

ज्ञानमाण्डू।देख्दै आङ सिरिङ्ग हुने ठाडो पाखो । पाखाभरि ठूल्ठूला ढुङ्गाका चेपमा मान्छे छिर्न मिल्ने प्रशस्त सुरुङ । आगोले पोलेको जस्तो धुवाँले राउँसिएका लामा सुरुङभित्र धातुका धाउहरु । 

हिजो हथौडाको भरमा खनिएका सुरुङमा अहिले तामाको अध्ययन भइरहेको छ । पुर्खाले तामा निकालेकै आधारमा अहिले आधुनिक प्रविधिको प्रयोग गरी बागलुङको तित्याङमा तामा उत्खननका लागि अध्ययनको काम तीव्र गतिमा चलिरहेको छ ।

स्थानीय बूढापाकाका अनुसार तित्याङको खानीगाउँमा झन्डै दुई सय वर्ष पहिले तामाखानी सञ्चालनमा थियो । मल्लकालीन समयमा स्थानीय प्रविधि प्रयोग गरेर हालको बागलुङ नगरपालिका–९ तित्याङ खानीगाउँका पाखोमा तामा निकालिएको थियो, स्थानीयवासी सन्तबहादुर जिसीले बताए । 

“उबेला हाम्रा जिजुबाजेले खानीबाट तामा निकाल्ने क्रममा मान्छे पुरिएपछि बन्द भएको भन्ने सुनिन्छ”, जिसीले भने , “पछि तामा निकाल्दा बनेका सुरुङमा हैजा लागेका मान्छे राख्थे भन्नुहुथ्यो बा’ले ।” 

चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रुपले चार महिनादेखि तित्याङमा खानी अध्ययनको काम गरिरहेको छ । चार महिना पहिले यहाँ आएका खानी विज्ञहरूको समूहले सम्भावना औँल्याएपछि मेशिन नै प्रयोग गरेर परीक्षणको काम धमाधम चलिरहेको छ । “यहाँ तामा ९० प्रतिशत छ भन्नेमा हामी पुग्यौ, के कति छ भन्ने निक्र्यौल गर्न मात्रै बाँकी हो”, शुभम् ग्रुपका अध्यक्ष श्याम अधिकारीले भने , “तामासँगै हुने धातुहरूको अध्ययन पनि भइरहेको छ ।”

तामाको परीक्षणका लागि तित्याङको अड्डाँडामा २२ मिटर लामो र बाह्रमुरेमा ३२ मिटर लामो सुरुङ तयार भइसकेको छ । सुरुङमार्फत जमीनको भित्री भागको ढुङ्गा माटो सङ्कलन गरी ल्याबमा परीक्षण गर्ने काम भइरहेको अधिकारीले बताए । “हामी अध्ययनमै छौँ, अझै केही (सुरुङ) टनेल अघि बढाउनुपर्ने भूगर्भ शास्त्रीहरूले बताउनुभएको छ”, उनले भने , “जमीनभित्र धातुको मात्रा हेर्ने काम बाँकी छ, हामीले पहिलो चरणको ९० प्रतिशत काम सकेका छौँ ।” 

खानी विभागले खटाएका भूगर्भशास्त्री, इन्जिनीयर, चीनबाट आएका अध्ययनकर्ता लगायतले यहाँको अवस्थाबारे अध्ययन गरिरहेका छन् । तामाको अध्ययनका लागि नेपाल सरकारको अनुमतिमा यहाँ आएको कम्पनीले परीक्षण प्रतिवेदन तयार भएपछि खानी सञ्चालनको तयारीमा लाग्ने बताएको छ । “यहाँ प्लान्ट बस्छ, मात्रै कत्रो बनाउने भन्ने हो”, अधिकारीले भने , “वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रस्ताव लगायतका काम सकेर चार महिनाभित्रै हामी उत्खननको अनुमति लिनतर्फ लाग्छौँ ।” अधिकारीले कुनै अवरोधको सामना गर्नु नपरे आगामी एक वर्षभित्रै तित्याङमा खानी सञ्चालनमा आउने दाबी गरे । पहिलो चरणको परीक्षणमा मात्रै झन्डै चार करोड खर्च गरेको कम्पनीले खानी सञ्चालनका लागि एक अर्बको हाराहारीमा लगानी हुने जनाएको छ ।

“यहाँ मात्रै होइन बागलुङका काठेखोला, गल्कोट, जैमिनी, म्याग्दीको ओखरबोट र गुल्मीका केही ठाउँमा समेत खानीको सम्भावना रहेकाले यहाँ सञ्चालनमा आउने प्लान्टबाटै तामा, चाँदी, सुनलगायत धातु निकाल्न सकिन्छ”, अधिकारीले भन्छन् , “यो नै नेपालमा पहिलो टनेल प्रविधिको खानी हुनेछ ।” स्थानीय सरोकारवाला, स्थानीय, प्रदेश र केन्द्र सरकारले समेत खानी सञ्चालनमा चासो देखाएकाले सबैसँगको सहकार्यमा खानी सञ्चालनमा आउने अधिकारीले बताए । 

पुराना खानी र त्यहाँ देखिने धाउको सङ्केतका आधारमा बागलुङ नगरपालिकाले यहाँ खानी सञ्चालनको पहल थालेको थियो । पहिलो नगरसभाबाट तित्याङमा खानी सञ्चालनका लागि अध्ययन गर्ने निर्णय गरेको नगरपालिकाले खानी विभाग र सरोकारवाला सबै मन्त्रालयसँग पहल गरेर झन्डै दुई वर्षपछि यहाँ अध्ययनको काम थालनी भएको छ । खानी अध्ययन गरिरहेको कम्पनीले परीक्षणको प्रतिवेदन खानी विभागलाई बुझाउनेछ । खानी विभाग, उद्योग मन्त्रालयले प्रतिवेदनका आधारमा स्थलगत अध्ययन गरेपछि मात्रै उत्खननको अनुमति पाउनेछ ।

यहाँ खानी सञ्चालनमा आए रोजगारीको सिर्जना र कर तथा रोयल्टीबापत आउने रकमले विकास निर्माणमा समेत सहयोग पुग्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने कुनै पनि काममा बाधा–अवरोध नआउने बानपा–९ तित्याङका वडाध्यक्ष गणेश थापाले बताए । खानीको परीक्षणमा देखिएको प्रगतिले स्थानीय उत्साहित भएका छन् ।

परीक्षण भइरहेका दुई खानीमा अहिले १६ स्थानीय कामदार, चार कम्पनीका प्रतिनिधि, पाँच चिनियाँ प्राविधिक र पाँच जना इन्जिनीयर लगायतले काम गरिरहेका छन् । नेपाली सेना र नेपाल प्रहरीले अध्ययनस्थलमा सुरक्षाका लागि पहरा दिइरहेका छन् भने अध्ययन क्षेत्रका स्थानीयवासीले सरोकार समिति बनाएर समन्वय गर्दै आएका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x