बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

ज्ञानमाण्डू।भरतपुर अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत चौध जिल्लाका बिरामीलाई सेवा दिँदै आएको छ । विसं २०७४ भदौ १ गतेदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आएको थियो । 

प्रथम सेवा बिन्दुको रूपमा अस्पतालले बीमाका बिरामीलाई सेवा दिँदै आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बिमा लागू भएपछि पुस मसान्तसम्ममा ५३ हजार ४३८ बिरामीले बीमाको सुविधा प्राप्त गरेका छन् । तीनै बिरामीले अस्पतालमा दुई लाख ४४ हजार ९४२ पटक सेवा लिएको उनले जानकारी दिए । सबैभन्दा बढी चितवनका बिरामीले सेवा लिएका छन् । यसपछि मकवानपुर, तनहुँ र गोर्खा जिल्ला रहेका छन् । रोल्पा, रुकुम, पाल्पा, दाङ, अर्घाखाँची, पर्सा, सिन्धुली, रामेछाप, कास्की र रौतहटका बिरामीले पहिलो सेवा बिन्दु र रेफरल सेवा विन्दुका रूपमा अस्पतालबाट सेवा लिएको जनाइएको छ । 

बिमा कार्यक्रमबाट अस्पतालले रु २६ करोड १२ लाख ५२ हजार २५८ प्राप्त गरेको छ । रु आठ करोड पाउन बाँकी रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले बिमा लागू भएका सरकारी अस्पतालमा भरतपुर अस्पतालको सेवा उत्कृष्ट रहेको जानकारी दिए । स्वास्थ्य बिमा बोर्डले समयमा भुक्तानी नगर्दा सञ्चालनमा कठिनाइ भएको उनले बताएका छन् । 

बोर्डका कार्यकारी निर्देशक रमेश पोखरेलले भरतपुर अस्पतालले धेरै बिरामीलाई सेवा दिएको बताउँदै सेवामा अरू बढी सुधार आवश्यक रहेको बताए । जनशक्तिको अभावमा भुक्तानीमा केही ढिलाइ भएको भएको र छिट्टै भुक्तानी गरिने उनले जानकारी दिएका छन् ।

देशभरका ५० जिल्लाका २५ लाख जनताले स्वास्थ्य बिमा गरेका छन् । देशका सबै जिल्लामा बिमा कार्यक्रम कार्यान्वयनमा आउँदै छ । विसं २०७२ चैत्र २५ गते कैलालीबाट सुरु भएको बिमा कार्यक्रमअन्तर्गत पछिल्लो पटक यही माघ ७ गते धादिङमा ५०औँ जिल्लाको रूपमा बिमा कार्यक्रम कार्यान्वयनमा आएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x