५० अर्व लगानी भित्र्याउने लक्ष्यसहित ‘तिलोत्तमा लगानी सम्मेलन’ बिहीबारबाट सुरु

ज्ञानमाण्डू।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा लगानी सम्मेलन सुरु भएको छ । स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले काठमाडौँ बाहिर पहिलो पटक आयोजित सम्मेलन बिहीबारबाट सुरु भएको हो । सम्मेलनका अवसरमा बिहीबार तिलोत्तमा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । ‘तिलोत्तमा लगानी सम्मेलन’को पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गरे ।

सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी पाँच सय जना लगानीकर्ता सहभागी छन् ।आयोजित सम्मेलन मार्फत करिब ५० अर्व लगानी भित्र्याउने लक्ष्यसहित नगरपालिकाले २२ परियोजनाहरूका विषयमा प्रस्ताव तयार गरी अघि सारेको छ ।अघि सारिएका प्रस्तावहरू मध्य कम्तीमा १० परियोजनामा सम्झौता हुने अपेक्षा रहेको आयोजक तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जनाएका छन् ।

शिक्षा, स्वास्थ्य, पर्यटन, सडक–पूर्वाधार, फोहोर मैला व्यवस्थापन, हरियाली प्रवर्धनजस्ता आम नागरिकका अपेक्षालाई नगरपालिकाले लगानी सम्मेलन मार्फत लगानी भित्राउन लागिएको नगरपालिकाले जनाएको छ । 

सम्मेलनमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ता, विदेशी लगानीकर्ता, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, सङ्घीय सरकार मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा सरकारका उच्च पदस्थ अधिकारीलगायत ८०० बढीको सहभागिता रहेको आयोजक तिलोत्तमा नगरपालिकाले जनाएको छ ।

लगानीका लागि कोल्ड स्टोरसहितको एकीकृत कृषि उपज सङ्कलन तथा प्रशोधन केन्द्र एकीकृत फोहर मैला व्यवस्थापन केन्द्र, ढाक्रे वास एकीकृत पर्यटकीय स्थल, मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, अटो भिलेज, औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र रिङरोडमा रेल, एकीकृत दूध सङ्कलन तथा प्रशोधन केन्द्र, स्मार्ट हाटबजार, स्मार्ट पार्किङ स्थल, क्यान्सर अस्पताल, महिला तथा बाल अस्पताल, सौर्य ऊर्जा लगायतका २२ वटा परियोजनाहरू तयार पारिएका छन् । 

लगानी सम्मेलनका क्रममा सम्झौता हुने परियोजनाहरूका लागि रोजगारीका आधारमा व्यावसायिक करमा विभिन्न छुट दिने भएको छ । नगरपालिकाले न्यूनतम ५० जनासम्मलाई रोजगारी दिने परियोजनाहरूलाई ५ वर्षसम्म ५० प्रतिशत व्यावसायिक करमा छुट दिने जनाएको छ । त्यस्तै, ३०० जनासम्मलाई रोजगारी दिने परियोजनाहरूलाई १० वर्षसम्म ७५ प्रतिशत व्यावसायिक करमा छुट दिने, ५०० जनासम्मलाई रोजगारी दिने परियोजनालाई १२ वर्षसम्म व्यावसायिक करमा ९० प्रतिशत छुट दिने र ५०० भन्दा बढीलाई रोजगारी दिने परियोजनालाई १५ वर्षसम्म व्यावसायिक करमा शतप्रतिशत छुट दिने निर्णय गरेको कुरा नगरपालिकाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x