नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष ढकालले यो धारणा नेपाली काँग्रेसले आयोजना गरेको शुक्रवारको एक कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
ढकालले सुधारका लागि पहिलो सन्देश सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनुपर्ने रहेको बताउनुभयो ।
सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न नसक्ने बताउँदै ढकालले यदि कुनै ठाउँमा बदमासी छ भने त्यसलाई नियन्त्रण गर्न सकिन्छ, तर समग्र निजी क्षेत्रको मानमर्दन गर्नुको साटो सम्मान गर्नुपर्छ भन्नुभयो । उहाँले व्यवसाय दर्ता, नवीकरण वा राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्नेमा पनि जोड दिनुभयो ।
साना उद्यमीलाई परियोजना धितोमा कर्जा दिनुपर्ने आवश्यकता औँल्याउँदै महासङ्घले यसको जोखिम न्यूनीकरण र सञ्चालनका लागि अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको जानकारी ढकालले दिनुभयो ।
नेपाल दुई वर्षपछि विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने कुरामा योजना आयोगको रणनीतिले जोखिम न्यूनीकरण गर्न सक्षम नभएको उहाँको टिप्पणी छ । ढकालले निजी क्षेत्र रणनीति बनाउन तयार रहेको बताउँदै २०२१ मै यस सम्बन्धी पहिलो प्रतिवेदन सार्वजनिक गरेको स्मरण गराउनुभयो ।
ढकालले विगत दुई वर्षदेखि बजार नियन्त्रणका लागि अपनाइएका नीतिहरूले अर्थतन्त्रमा समस्या सिर्जना गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार कम मागका कारण बजारमा चहलपहल छैन र उद्यमीहरू लगानी गर्न हतोत्साहित भएका छन् । महासङ्घले दशैं–तिहार लक्षित सर्वेक्षणबाट गत वर्षको तुलनामा बिक्री ४० प्रतिशत सम्म घटेको देखाएको जानकारी पनि उहाँले दिनुभयो ।
तर, ढकालले अर्थतन्त्र निराशाजनक नभएको र सुधारको सम्भावना रहेको औँल्याउनुभयो । उहाँका अनुसार केही सूचकहरूले सुधारलाई बल दिन सक्छन् । हिजो मात्रै सार्वजनिक भएको नेपालको पहिलो क्रेडिट रेटिंगले बीबी माइनस देखाएको छ, जसले अर्थतन्त्र अहिले स्थिर भए पनि सानो झटकाले जोखिम बढाउन सक्ने चेतावनी दिएको छ ।
नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूका लागि यो सकारात्मक सन्देश रहेको उल्लेख गर्दै ढकालले महासङ्घको पहलमा नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग गठन भएको छ, जसमा अहिले निजी क्षेत्रलाई पनि समावेश गरिएको छ भन्नुभयो । यसले निजी क्षेत्रलाई थप अवसर र सम्मान दिनेछ ।
निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल
![](https://www.gyanmandu.com/news_images/20241122082914.jpeg)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
![](https://www.gyanmandu.com/frontend/images/reactions/like.png)
0%
![](https://www.gyanmandu.com/frontend/images/reactions/clap.png)
0%
![](https://www.gyanmandu.com/frontend/images/reactions/support.png)
0%
![](https://www.gyanmandu.com/frontend/images/reactions/love.png)
0%
![](https://www.gyanmandu.com/frontend/images/reactions/curious.png)
0%
![](https://www.gyanmandu.com/frontend/images/reactions/insightful.png)