ग्लोबल आइएमई बैङ्कको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैङ्क लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र सहभागी बैङ्कहरूबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।

उक्त सम्झौतामा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत दीप चन्द्र रेग्मी र क्रिष्टल पावर डेभलपमेण्ट प्रा. लि. का कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य लगायत सहअगुवाई तथा सहभागी बैङ्कहरूका प्रतिनिधिहरूले हस्ताक्षर गर्नुभएको छ ।

कूल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आइएमई बैङ्कको अगुवाइ, सिद्धार्थ बैङ्क, लक्ष्मी सनराइज बैङ्क, प्रभु बैङ्क सहअगुवाई र कृषि विकास बैङ्क र नेपाल एसबिआई बैङ्कको सहभागितामा बनेको कन्सोर्टियमले करिब १९ अर्ब रुपैयाँ लगानी गर्नेछ ।

जस मध्य ग्लोबल आइएमई बैङ्कले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैङ्कले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैङ्कले ४ अर्ब रुपैयाँ, प्रभु बैङ्कले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैङ्कले १ अर्ब ५० करोड तथा नेपाल एसबिआई बैङ्क १ अर्ब रुपैयाँ लगानी गर्ने छन् ।

सम्झौता पश्चात् ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन क्षमतामा वृद्धि हुने र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास बैङ्कको रहेको छ । साथै, यस आयोजनाको लागि शुभकामना व्यक्त गर्नुभयो ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकाका स्थित तमोर नदिमा निमार्ण हुने १६६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ । सम्झौता अनुसार बैङ्कले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताबाट लगानी व्यवस्थापन गरिनेछ । यो आयोजना निर्माण सुरु भएको मितिबाट ५ वर्ष भित्र निर्माण सम्पन्न हुने छ ।

ग्लोबल आइएमई बैङ्क ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ । बैङ्कले बैङ्क अफ द इयर २०१४, वेस्ट इन्टरनेट बैङ्क २०१६, वेस्ट बैङ्क नेपाल २०२४, २०२५ र २०२६, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, वेस्ट बैङ्क ईएसजी नेपाल २०२४, वेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३४४ शाखा कार्यालय, ३८५ एटिएम, १४७ शाखा रहित बैङ्किङ सेवा, ६९ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिटेन्स सेवा  पनि दिँदै आएको छ । बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिटेन्स भित्र्याउने काम गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x