बीमाको नियामक निकायलाई सशक्त बनाउन सुझाव

प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा बीमा विषयका जानकारहरुले बीमा
व्यवसायको नियामक निकायलाई स्वायत्त र सबल बनाउन सके बीमितको हक सुनिश्चित
गर्न सहज हुने सुझाव दिएकाहुन् ।
समितिले बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको दफावार
छलफल अघि आज सो विषयका विज्ञसँग छलफल गरी रायसुझाव लिएको हो । बैठकमा
विज्ञहरु डा फत्तबहादुर केसी, वीरेन्द्र बैधवार, वीरकृष्ण महर्जन,
सुरेन्द्रमान प्रधान लगायतले बीमितहरुलाई बीमा साक्षारता बढाउने, बीमितका
हितमा सेवासुविधा सहज बनाउनुपर्ने, बीमाका अन्तर्राष्ट्रिय सिद्धान्त आदि
विषयमा सुझाव दिएका थिए ।
समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा सांसदहरु
ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्रप्रसाद पाण्डे लगायतले अब बन्ने
कानूनमा नियामक निकायलाई सूक्ष्म नियन्त्रणभन्दा उत्तरदायी र पारदर्शी बनाई
बीमितले सहज रुपमा क्षतिपूर्ति पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।
विधेयकमा बीमा व्यवसायको नियमनकारी निकायका रुपमा नेपाल बीमा प्राधिकरणको
स्थापना गर्ने व्यवस्था गरिएको छ । समितिले अर्थमन्त्रीलाई बैठकमा बोलाई
विधयेक ल्याउनुपर्ने औचित्यका बारेमा प्रस्ट पारिसकेपछि विधेकमाथिको दफावार
छलफल अघि बढाउने जनाएको छ ।रासस
प्रतिकृया दिनुहोस्