Gyanmandu LOGO

Reliable

ताजा

संरक्षणको अभावमा अस्तित्व मेटिँदै गरेका डोटीका दरबार

ज्ञानमाण्डू।जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ दिपायल र वडा नं ६ सिलगढी स्थित नाचनथलीमा रहेको डोटी गौडादरबार तथा जोरायल गाउँपालिका–६ निरौलीमा रहेको पुरातात्त्विक महत्त्व र पर्यटकीय सम्भावना बोकेका दरबारहरू उचित संरक्षण नगरिँदा अस्तित्व मेटिँदै जान थालेको छ । 

दरबार संरक्षण गर्न केही पहल चालिए पनि खासै संरक्षण नगरिँदा अस्तित्व मेटिँदै जान थालेको स्थानीयवासीको आरोप छ । ती दरबारहरूको समयमै उचित संरक्षण तथा संवर्द्धन गरिएको भए नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक उल्लेख्य मात्रामा भित्र्याउन सकिने स्थानीयवासी तथा काँग्रेस नेता घनश्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “दरबारको संरक्षण गर्ने भन्ने कुरो मात्रै सुनिन्छ तर खासै संरक्षण नगरिँदा पुरातात्त्विक महत्त्व र पर्यटकीय सम्भावना बोकेका दरबार भग्नावशेषमा परिणत हुदैछन् ।” 
डोटी राज्यको दरबार अर्थात् मूल गढ हालको महाकाली अञ्चलअन्तर्गत डडेलधुरा जिल्ला स्थित अजयमेरुमा थियो । जसलाई अद्यावधि अजैमरकोट भनिन्छ । पहिला त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुँदै आएकामा डोटेली राजा भूपति शाहीको शासनकालमा हालको दिपायलको पूर्वी भागतिर गनैर गौँडा नामक डाँडामा राजदरबार अर्थात् कोट निर्माण हुन गई त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुन थाले वृद्धहरू बताउँछन् । जसलाई अद्यावधि दिपायल कोट भनिन्छ ।

तत्कालीन डोटेली राजाको दरबारलाई कुनै पनि प्रयोजनमा ल्याउन नसकिएबाट दिनानुदिन जीर्ण हुन गई हाल भग्नावशेषका रूपमा रहेका छन् । डोटी राजाको मूल दरबार अजैमेरकोट हिउँदको समयमा ज्यादै चिसो हुने भएकाले शीतकालीन दरबारका रूपमा दिपायलमा कोट निर्माण भई यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुन गएको राजपुरका स्थानीयवासी ८५ वर्षीय कुँवेरजङ्ग शाहले बताए । 
  
सन् १४३८ देखि १४५० सम्म डोटी र कुमाउँको युद्धपछि त्रसित तत्कालीन राजा कल्याण मल्लले दिपायलकोटमा राजधानी सारेको विभिन्न शिलालेखमा उल्लेख रहेको पाइन्छ । युद्धमा पराजयका कारण दीप शाही भारतको सिङ्गाही पसेकाले शरणमा आएका उहाँका भाइ विष्णु शाहीलाई गोर्खालीको रजौटा बनाइयो । विष्णु शाहीपछि उहाँका ज्येष्ठ पुत्र पहाडी शाही (द्वितीय) रजौटा भएका थिए । रजौटा डोटेली साहेब भनिने पदमविक्रम शाहका माइला पुत्र ७९ वर्षीय विष्णु शाहीदेखि पुख्र्याैली ज्येष्ठ पुत्रहरू रजौटाका रूपमा रहिआएको भन्ने भनाइ छ । 
विष्णु शाही, पहाडी शाही (द्वितीय), बलदेव शाही, सुरजङ्ग शाह, शमशेरबहादुर शाह, पदमविक्रम शाह र मोहनविक्रम शाह । यस प्रकार विसं २०१८ मा ‘राज्य रजौटा’ ऐन जारी भएपछि यहाँको रजौटा समाप्त हुन गएको थियो । तत्कालीन अन्तिम रजौटाका रूपमा मोहनविक्रम शाह थिए । विसं २०१८ देखि रजौटा प्रथाको अन्त भए पनि डोटीको दिपायल राजपुरस्थित शाह खलकमा पुर्ख्यौली ज्येष्ठ पत्रलाई आदरपूर्वक सम्मान दिइनाका साथै बडादसैँमा घरपरिवारका साथै खलकका बाल वयोवृद्ध सबैले उहाँका हातबाट टीका ग्रहण गर्ने र उहाँले पनि पारिवारिक तथा खलकको रीतिरिवाजको परिधिमा रहनुपर्ने र जसको अनुसरण नगरेमा खलक तथा परिवारले सम्मान नदिने प्रचलन अहिलेसम्म कायमै रहेको स्थानीय बुढापाकाहरू बताउँछन् । 

नेपाल एकीकरण पूर्व डोटी राज्यको राजधानी, गोर्खालीबाट परास्त भएपछि अर्थात् नेपाल एकीकरणपछि गोर्खालीको शक्ति सञ्चय तथा प्रशासकीय केन्द्रका रूपमा डोटी मोहडा गौँडाको केन्द्र, विसं २०१८ मा नेपाल अधिराज्यको राजनीतिक विभाजन अनुरूप डोटी जिल्लाको सदरमुकाम र विसं २०३८ मा सुदूरपश्चिम विकास क्षेत्रको (सेती महाकाली) विकास केन्द्रद्वारा प्रतिष्ठित हुँदै आएको हालको दिपायल सिलगढी नगर क्षेत्रले २०३८ सालमा नगरपालिका परिणत भएको भन्ने स्थानीयवासीको भनाइ छ । 

त्यस्तै डोटी दिपायल सिलगढी नगरपालिका–६ नाचन्थलीमा रहेको राणाकालीन दरबारको उचित संरक्षण नगरिँदा भत्किन थालेको छ । जिल्लाको ‘मल्लो ढोका’ भनेर चिनिने यो दरबार उचित संरक्षणको अभावमा भग्नावशेषमा परिणत हँुदैछ । राणा शासनकालमा हाल जिल्ला प्रशासन कार्यालय रहेको ठाउँलाई ‘तल्लो ढोका’ भन्ने गरिन्थ्यो भने ‘मल्लो ढोका’ दरबार बडा हाकिमको निवासका रूपमा प्रयोग हुने भएको थियो । करिब ४० कोठा रहेको यो दरबार संरक्षण अभावमा भत्किन थालेको छ । यो ‘मल्लो ढोका वरिपरि कोत गार्ड, सुसारे निवास, मनोरञ्जन घर, पूजा घरहरू निर्माण भएका छन् । 

ती घरहरू पनि भत्किन थालेका छन् । बहादुर शमशेर राणा बडा हाकिम भएका बेला उक्त दरबार स्थानीय व्यक्तिलाई बिक्री गरिएको थियो । यो कहिले बिक्री भयो भन्ने पत्ता लाग्न सकेन, तर बहादुर शमशेर विसं १९९० को दशकमा डोटी गौंणामा भएको यहाँका बुढापाकाहरू बताउँछन् । करिब ४६ रोपनी जमिन त्यति बेला रु १० हजारमा सिलगढीका सुरत श्रेष्ठलाई बिक्री गरेको भन्ने सुनेको स्थानीयवासी सिद्ध राज श्रेष्ठले बताए । 

त्यस्तै जिल्लाको जोरायल गाउँपालिका–६ निरौलीमा रहेको अर्को डोटेली दरबार निरौली दरबार उचित संरक्षण तथा संवर्द्धनको अभावमा रहेको छ । त्यो दरबार पनि दिनहुँ भत्किँदै गइरहेको हो । संरक्षणमा कसैले पनि चासो नदेखाएपछि यो दरबार भत्किँदै गएको निरौली बसोटीका स्थानीय बासिन्दा खडकबहादुर बोहरालेऔल्याए । उनले जनाए अनुसार, पुरानो कलात्मक शैलीको तथा पुराना राजाको पालामा बनेको दरबार भत्किँदै गएका छन् तर पुरातात्त्विक महत्त्व बोकेका यस्ता सम्पदाको संरक्षण गरिनुपर्ने विषयमा भने कसैले चासो देखाएका छैनन् ।

सन् १४३९ मा तत्कालीन निरैपाल राजाले आफ्नो शासनकालमा निर्माण गरेको यो दरबार नाघी मल्ल राजाको शासनकालपछि खाली भएको र निरैपाल राजाका नामबाट पछि गएर यो ठाउँलाई निरौली नाम राखिएको भन्ने किंवदन्ती रहेको जोरायल गाउँपालिका– ५ गड्सेराका स्थानीय ९० वर्षीय वृद्ध जीतबहादुर विष्टले जनाए ।

मल्लकालीन समयमा राजा नाघी मल्ल र यही ठाउँमा रहेको भागेश्वर देवताबिच को ठुलो भन्ने विषयमा घम्साघम्सी (भनाभन) चलेको र राजाले आफू ठुलो भएको जिकिर गरेपछि भागेश्वर देवताले राजाको दरबारमा कम्पन गराएपछि राजा डराएर देवतासँग माफी मागेर पूजा गर्न सुरु गरेको डोटेली गीत (चैत, धुमारी) मा उल्लेख गरिएको जोरायल गाउँपालिका– ६ निरौलीका ८० वर्षीय वृद्ध नरबहादुर बोहराले उल्लेख गरे ।

बोहराका अनुसार, नाघी मल्ल राजा र भागेश्वर देवताबिच भएको को ठुलो भन्ने विवादको कहानीमा बनाइएको धुमारीमा अहिले पनि डोटीका स्थानीय गौरा पर्वमा देउडा खेल्ने गर्छन् । निरौली गाउँभन्दा माथि अग्लो रमणीय डाँडामा रहेको यो दरबारको समयमै उचित संरक्षण तथा संवर्द्धन गरिए त्यहाँको ऐतिहासिक र पर्यटकीय विकास हुने स्थानीयवासी बताउँछन् । यो क्षेत्रमा तत्कालीन अवस्थामा मल्ल राजाले प्रयोग गर्ने मगराउ (कुवा) पनि जीर्ण बन्दै गएको छ । 

त्यस्तै जिल्लाको बडीकेदार गाउँपालिका बेर्छैनमा रहेको रिसेडी दरबारबाट राजा घोडामा चढेर निरौली दरबारमा आउने जाने समयमा बिच बाटोमा घोडालाई दाना पानी दिने ढुङ्गा तथा फलामका तोपडा पनि संरक्षण नहुँदा टुटफुट हुन थालेका छन् । स्थानीय समाजसेवी डिल्लीराज जोशीले , संरक्षण अभावमा अहिले यहाँका पुरातात्त्विक महत्त्वका विभिन्न चिजबिज लोप हुने अवस्थामा पुगेका छन् । आँखै अगाडि रहेका यी सम्पदाहरू लोप हुने अवस्थामा पुगेको कुरामा प्रकाश पारे। 

गौरा पर्वमा पनि राजा नाघी मल्ल तथा भागेश्वर देवताका बारेमा रचिएका गीत (चैत, धुमारी) गाउने चलन अझै पनि छ । जोशीले जनाए अनुसार, “भएका सम्पदाहरू त लोप हुने अवस्थामा पुगिसकेका छन् । परम्परा र संस्कृतिसँग सम्बन्धित यस्ता चैत, धुमारी पनि लोप नहोला भन्न सकिँदैन ।” 

निरौली दरबारको संरक्षणका लागि गाउँपालिकाले पहल गर्ने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले, “विज्ञहरूसँगको छलफल र स्थानीयको सुझावका आधारमा नै यसको संरक्षणका लागि पहल अगाडि बढाइने कुरामा जोड दिए ।” उचित संरक्षण तथा संवर्द्धन नगरिँदा बर्सेनि उक्त दरबार खण्डहरमा परिणत हुँदै गएको छ । दरबार संरक्षण गर्न स्थानीयवासीले माग गरेका छन् ।रासस 

IME