Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

मिथिलामा तिला सङ्क्रान्ति पर्व

ज्ञानमाण्डू।हिन्दूधर्मालम्बीहरुले धार्मिक एवं सांस्कृतिक पर्व ‘मकर सङ्क्रान्ति’ उल्लासमय वातावरणमा मनाइरहेका छन् । यस पर्वमा तिलको विशिष्ट महत्त्व रहेको कारण प्राचीन मिथिलामा ‘तिला सङ्क्रान्ति’ र माघ महिनाको पहिलो दिनमा मनाइने गरिएकाले कतिपयले ‘माघे सङ्क्रान्ति’ पर्व पनि भन्ने गरिन्छ । 

सूर्यदेव, धनु राशि छोडेर मकर राशिमा प्रवेश गर्नुका साथै उत्तरायणको गति पनि प्रारम्भ भएको अवसरमा पर्व मनाइने गरिएको हो । सूर्य उत्तरायणमा प्रवेश गरेपछि देउताको बह्म मुहूर्त उपासनाको पुण्य कालको शुभारम्भ हुन्छ । यस कालमा विद्याको प्राप्ति, साधनाको सिद्धि कालका साथै देव प्रतिष्ठापन, गृह निर्माण, यज्ञलगायत धार्मिक कर्महरू गर्न उत्तम समय मानिन्छ । सोही कारणले मकर राशिमा सूर्य प्रवेश गरेको पहिलो दिनलाई ‘विशेष दिन‘ संज्ञा दिँदै खुशीयालीको रूपमा पर्व मनाउने गरिएको हो । 

यस पर्वको अवसरमा पवित्र नदी र तलाउँमा स्नानका गरी खिचडी, अन्न, नयाँ वस्त्र र नगद दान गरेमा पुण्य प्राप्तिका साथै सूर्यदेव प्रसन्न हुने धार्मिक विश्वास रहेको छ । सो धार्मिक महत्त्वको आधारमा जनकपुरको गङ्गा सागर, धनुषसागरलगायत पवित्र जलाशयमा बिहानैदेखि सयौँको सङ्ख्यामा धर्मालम्बीहरु स्नान गरी विभिन्न मन्दिरमा धार्मिक विधिपूर्वक पूजापाठ गरी पर्व मनाइरहेका छन् । 

यस पर्वको पहिचानको रूपमा खिचडी, दाल, तिलको लड्डु र सख्खर रहेको छ । अनिवार्य रूपमा तिलको लड्डुलगायतका परिकार तयार गरिए पनि कतिपय समुदायमा खिचडीको सट्टा दही च्युरा खाने गरिन्छ । यो पर्व उत्साहसँग जोडिएको कारणले आजका दिन चङ्गा उडाउने गरिन्छ । हुन त विगतका वर्षका तुलनामा चङ्गा उडाउने मनोरञ्जनात्मक खेल क्रमिक रूपमा घट्दै गइरहेको देखिन्छ । 

मकर सङ्क्रान्तिमा खिचडीको महत्त्व:

मकर सङ्क्रान्तिका दिन खिचडी खानुको मुख्य कारणको रूपमा ग्रहहरुको स्थितिलाई बलियो बनाउनु रहेको विश्वास गरिन्छ । पौराणिक कथाअनुसार, खिचडी बनाउने सामग्रीमा चामल चन्द्रमा, कालो दाल शनि, हरियो तरकारी बुध, हल्दी वृहस्पति र नून शुक्र ग्रहको प्रतीक हो । 

यी सामग्रीहरू मिश्रण गरी तयार पारिएको खिचडी खाएमा सबै ग्रहहरू शान्त हुन्छ । घरमा शान्ति र समृद्धि आउने र ग्रहहरू बलियो हुने धार्मिक विश्वास रहेको छ । अर्को कथाअनुसार, मकर सङ्क्रान्तिका दिन खिचडी खाने परम्परा बाबा गोरखनाथले शुभारम्भ गरिएको उल्लेख गरिएको देखिन्छ । हिन्दु धर्ममा उत्तरायण सूर्यको आफ्नै विशिष्ट महत्त्व रहेको छ । यसको महत्त्व द्वापर युगमा सम्पन्न महाभारत युद्धमा गम्भीर घाइते हुनुभएका भीष्म पितामहको इच्छा मृत्युको समय अवधिसँग जोडिएर देख्न सकिन्छ । 

इच्छा मृत्युको वरदान पाउनु भएका भीष्म पितामह महाभारतको युद्धमा गम्भीर घाइते भई मृत्यु शय्या रहनुभएका उहाँ सूर्य उत्तरायणमा पुगेपछि माघ अष्टमीको दिन स्वेच्छाले प्राण त्याग गर्नुभएका थिए । तसर्थ, हिन्द धर्ममा सूर्य उत्तरायणको अवधिमा प्राण त्याग हुनु उत्तम मानिएको छ । सोही कारणले आज पितृलाई प्रसन्न गर्न तिल र जलले अर्घ एवं तर्पण गर्ने गरिन्छ । 

आज सन्तानलाई शपथ खुवाइन्छ: 

मिथिलावासीले आज यस पर्वको अवसरमा आफ्ना सन्तानलाई शपथ खुवाएर पर्व मनाउने गर्छन् । घरमा देवी देउताको पूजापाठ गरेपछि तिल र सख्खर मिश्रित प्रसाद खुवाउने क्रममा सन्तानसँग बचन लिने गरिन्छ । बुढेसकालमा ‘सेवा गर्ने कि नगर्ने’ भनेर मातापिताले सोध्ने गर्छन् । सन्तानले सेवा गर्ने, आज्ञाको पालना गर्ने बचन दिएपछि सो प्रसाद मातापिताले सन्तानलाई खुवाउने गर्छन् । प्रसाद ग्रहण गरेपछि सन्तानले आमाबुबालाई ढोगेर आशीर्वाद लिने गर्छन् । यसका साथै, आजका दिनमा अर्काको तिल खाएमा उनको सेवा गर्नुपर्ने भनाइका कारण कतिपयले अरूले दिएको तिलको लड्डु नखाने गरेको देखिन्छ ।रासस