Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

कोभिड–१९: सरसफाइका सा-साना अभ्यासले निम्त्याउन दिने छैन ठुलो प्रकोप

ज्ञानमाण्डू।कोरोना भाइरस (कोभिड–१९) कोरोना भाइरसको सङ्क्रमण फैलिए पश्चात् महामारीको कारण अहिले सरसफाइ, खानपान र काम गर्ने प्रवृत्तिमा ठुलो परिवर्तन भएको देख्न सकिन्छ । सरसफाइ भन्ने विषय हाम्रो दैनिक जीवन पद्धतिसँग जोडिएता पनि कोभिड–१९ को सङ्क्रमणका कारण मानिसहरू मनोवैज्ञानिक रूपमा स्वास्थ्य र विशेष गरी खानपान स्वच्छताप्रति अझ सचेत हुन थालेको देखिन्छ । सरकारले सार्वजनिक गरेका रणनीतिले मात्रै मुलुक स्वच्छ हुन सक्दैन । त्यसको निम्ति हरेक व्यक्ति, परिवार र समुदायले आफ्नो घर, आँगन र टोलले सरसफाइका रणनीतिप्रति संवेदनशील हुन जरुरी हुन्छ । जनस्तरमा आएको चेतना र स्वच्छताको प्रवृत्तिले कोभिड–१९ र अन्य संक्रामक या सरुवा रोगका सङ्क्रमण नियन्त्रणमा धेरै ठुलो भूमिका निर्वाह गर्ने देखिन्छ ।

हामी धेरै नेपालीले पनि स्वच्छता र सरसफाइका नयाँ नियम र प्रवृत्ति अपनाउन थाली सकेका छौ । रुचिको रूपमा हेरिएको यस प्रवृत्ति अहिले हामी माझ प्राथमिकताको विषय बनेको छ । मानिसले सरसफाइमा ध्यान दिने हाे भने ३० देखि ६० प्रतिशतसम्म रोग लाग्नबाट बच्न सकिन्छ । विकसित भनिएका राष्ट्रहरूमा सरसफाइ र वातावरणीय स्वच्छतालाई मुख्य रूपमा ध्यान दिइएको पाइन्छ । गरिबी, कठिन भुबनोट र द्वन्द्वजस्ता चुनौतीहरू हुँदाहुँदै पनि खानपान तथा सरसफाइको सुविधा विस्तारमा नेपालले विगतका केही दशकहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ। सन् १९९० मा ६ प्रतिशतबाट वृद्धि भई हाल ६२ प्रतिशतसँग सरसफाइको सुविधा उपलब्ध छ। तथापि चुनौतीहरू अझै बाँकी नै छन् ।

जीवन रक्षा र विकासका लागि सफा खानपान, आधारभूत सुरक्षा तथा उपयुक्त सरसफाइका बानीहरू अत्यन्तै महत्त्वपूर्ण छन्। सुरक्षित खानपान, सरसफाइ र स्वच्छताका प्रावधानले करोनाभाइरस सहित अन्य संक्रामक रोगको प्रकोप र जोखिम विरुद्धको लडाइमा ठुलो आवश्यकताको भूमिका निर्वाह गरेको हुन्छ । प्रमाण आधारित र सुनिश्चित सरसफाइ, स्वच्छताका र फोहोर व्यवस्थापनका अभ्यासले समुदाय, घरहरू, विद्यालयहरू, बजार र स्वास्थ्य सेवाका संस्थाहरूमा कोरोना भाइरस (कोभिड–१९)को मानव देखी मानव प्रसारण रोक्न ठुलो मद्दत पुर्‍याउने देखिन्छ । यहाँ हामीले कोभिड–१९ र कोभिड–१९ को यो प्रकोपमा सरसफाइ माथि उठेका जिज्ञासाहरूको बारेमा चचा गर्नेछौ ।


कोभिड–१९: कसरी भाइरस मानव बाट मानवमा प्रसारण हुन्छ ?

प्रसारणको मुख्य मार्गहरू श्वासप्रश्वासका क्रममा निस्किएका ड्रप लेट(छींक र खोकीका थोपा) र सङ्क्रमितसँगको प्रत्यक्ष सम्पर्क हुन् । सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका कुनै पनि व्यक्तिमा कोभिड–१९ को जोखिममा पर्ने खतरा रहन्छ । सङ्क्रमित व्यक्तिबाट श्वासप्रश्वासका क्रममा निस्किएका ड्रपलेटहरु बहिरी कुनै वस्तुको सतहमा पुगी व्यवहार्य रहने सम्भावना धेरै हुने गर्दछ जसका माध्यमबाट भाइरस सोही सतहको सम्पर्कमा आएका स्वस्थ व्यक्तिमा पनि प्रवेश गर्ने जोखिम रहन्छ । 

सङ्क्रमित व्यक्तिको उत्सर्जित मल र मूत्रबाट हुने प्रसारणको जोखिम भने निकै कम पाइएको छ । सङ्क्रमितको उत्सर्जन मार्फत अहिलेसम्म कुनै सङ्क्रमण भेटिएको छैन । तर वर्तमान सर्वेक्षणमा पाइएका प्रमाणका आधारमा, सङ्क्रमितको उत्सर्जनमा कोभिड–१९ को भाइरस देखिएको पाइएको छ ।

कोभिड–१९ को सङ्क्रमण र प्रसारलाई कम गर्न, आफैलाई र अरूलाई बिरामी हुनबाट जोगाउन सामाजिक दुरी कायम गर्नु आवश्यक छ । नियमित रूपमा र राम्ररी आफ्ना हातहरू साबुन पानीको प्रयोगले धुनु अथवा अल्कोहल मिश्रित ह्यान्ड स्यानीटाइजरको प्रयोग गर्नु उचित हुन्छ । कोरोना भाइरस रोकथाम गर्न व्यक्तिलाई अभिवादन गर्दा शारीरिक सम्पर्कबाट जोगिनु सुरक्षित हुन्छ। भिडभाड ठाउँमा जानबाट जोगिनु पर्दछ । आफू र अरू बिच कम्तीमा १ मिटर (३ फिट) कायम गर्नु पर्दछ। हामीले सावधानी अपनाउँदै घरबाट निस्किएका बेला ग्लोभ्स र मास्कको अनिवार्य प्रयोग गर्नु जरूरी छ। 

कोभिड–१९: के कोरोना भाइरस पिउने पानी, उत्सर्जन र ढल निकासका सतहहरूमा हुन सक्छ ?

कोभिड–१९ को उपचार नभएमा पिउने-पानीको सतहमा पनि यो भाइरसले भविष्यमा असर पार्ने क्षमता रहेता पनि पानीको स्रोतबाट कोभिड–१९ भाइरसको सङ्क्रमण भेटिएको भने छैन । अत, गरिएका अनुसन्धानहरूमा करोनाभाइरसका कुनै पनि विषाणु पानीको सतह वा भू जल स्रोतहरूमा पत्ता नलागेको हुँदा पानीमा करोनाभाइरसको जोखिम धेरै निउन देखिएको पाइन्छ । 

केन्द्रीकृत पानी उपचार र सुरक्षित पाइपयुक्त पानी आपूर्ति उपलब्ध नभएको ठाउँमा, विभिन्न घरेलु पानी प्रशोधनका उपाय र टेक्नोलोजीहरू निकै प्रभावकारी साबित हुने गरेका छन् । उमालेको पानी प्रयोग गर्नु या पिउँदा पानी उमालेर मात्र पिउनु , उच्च प्रशोधनका अल्ट्राफिल्ट्रेसन वा न्यानोमेम्ब्रेन फिल्टरहरू, सौर्य विकिरणको माध्यमबाट पनि पानीमा भएका सूक्ष्म जीव र विषाणुहरू नष्ट हुने गर्दछन् अथवा पानी शुद्धीकरणका केमिकल उपकरणको प्रयोगले पनि पानीमा भएका करोनाभाइरसलाई नष्ट गर्न सकिन्छ ।

कोभिड–१९ ढल निकास प्रणालीबाट पनि सङ्क्रमण हुने पुष्टि पाइएको छैन । तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गरेको वर्तमान सर्वेक्षणमा पाइएका प्रमाणका आधारमा, कोभिड–१९ सङ्क्रमित वक्त्तिको उत्सर्जनमा कोभिड–१९ को भाइरस देखिएको जनाइएको छ । यद्यपि, उत्सर्जनमा देखिएको कोभिड–१९ भाइरसको प्रमाणका आधारमा र अन्य सम्भावित संक्रामकहरूको नियन्त्रणका लागि फोहोर र उत्सर्जन व्यवस्थापनमा आवश्यक सतर्कता अपनाउनु दुवै वुद्दिमानी र महत्त्वपूर्ण हो ।

कोभिड–१९: हात स्वच्छता अभ्यास:

हात स्वच्छता को प्रसार कोभिड–१९ रोकथाम गर्न धेरै महत्त्वपूर्ण रहेको छ । बारम्बार र सही तरिकाले हात धुनु कोभिड–१९ सङ्क्रमण रोक्नको लागि सबैभन्दा महत्त्वपूर्ण र सजिलो उपाय हो । हातको स्वच्छतालाई ध्यानमा राखेर साबुन पानीको प्रयोगले सही विधि सँग हात धुने बानी अनिवार्य बसाल्नु जरुरी रहेको छ । यदि हातमा देखिने फोहोर छैनन् अथवा हात कुनै बाहिरी वस्तुको सम्पर्कमा रहेको छैन भने, ६० देखि ८० प्रतिशत अल्कोहल मिश्रित ह्यान्ड स्यानीटाइजरको प्रयोग गर्नु उचित रहन्छ । त्यस्तै, यदि हातमा देखिने फोहोर छ र अन्य बाहिरी वस्तुको सम्पर्कमा पनि रहेको छ भने, साबुन पानी या ह्यान्ड वासको प्रयोगले ४० देखी ६० सेकेन्डसम्म राम्रो सँग धुनु जरुरी छ ।

विश्व स्वास्थ्य सङ्गठनले निम्न परिस्थितिमा हात धुने सिफारिस गर्दछ:

१) कुनै पनि बिरामीको हेरचाह गर्नु अघि र पछि 
२) खाना बनाउनु भन्दा पहिले, बनाउने क्रममा र बनाए पछि
३) खानु भन्दा पहिले
४) शौचालय प्रयोग पछि
५) कसैलाई शौचालय प्रयोग गर्न मद्दत गरे पछि
६) आफ्नो नाक छोएपछि, खोकी र छींक पछि
७) कुनै पशु, पशुको खाना वा पशुको फोहोर छोएपछि
८) कुनै पनि फोहोर छोएपछि

कोभिड–१९: के रबर पन्जाले करोनाभाइरस सङ्क्रमण रोकथाममा प्रभावकारी सुरक्षा प्रदान गर्छ ?

नियमित रूपमा हामीले साबुन पानीको प्रयोगले हात धुनु, करोनाभाइरस सङ्क्रमण तथा रोकथाममा रबर पन्जाले दिने सुरक्षा भन्दा निकै नै प्रभावकारी अभ्यास रहेको अनुसन्धानले जनाएको छ । हामीले रबर पन्जाको प्रयोग गर्दा प्रदूषण र सङ्क्रमणका विषाणुहरू पन्जाको सतहमा रहने डर हुन्छ, जुन यदि हामीले आफ्नो नाक, मुख या आँखासँग सम्पर्क गर्‍यौ भने हामी आफै पनि कोभिड–१९ को प्रसार गर्ने स्रोत र हामी आफैलाई कोभिड–१९ को सङ्क्रमण हुने डर रहन्छ ।

कोभिड–१९:यो समयमा सुरक्षित रूपमा किनमेल कसरी गर्ने ?

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार किनमेल गर्न जाँदै हुनुहुन्छ भने सामाजिक दुरी कायम गर्नु एकदमै जरुरी हुन्छ । किनमेल गर्न जाँदा आफू र अरू बिच कम्तीमा १ मिटर (३ फिट) कायम गर्नु पर्दछ र आफ्नो आँखा, मुख र नाक छुने प्रयास गर्नु हुँदैन । यदि सम्भव छ भने किनमेलको लागि प्रयोग गर्ने ट्रलीहरू, टोकरीहरू वा झोलाहरू सेनिटाइज गर्नु पर्दछ । घर आए पश्चात् राम्रो सँग साबुन पानीले हात धुनु पर्दछ र किनेर ल्याइएका वस्तु तथा खाद्यान्न उचित र सुरक्षित भण्डारण गर्न आवश्यक छ । हालसम्म कुनै पनि सङ्क्रमण खाद्यान्न वा खाद्यान्न प्याकेजिङबाट प्रसार भएको भेटिएको छैन ।

कोभिड–१९:कोरोनाभाइसको बखत फलफूल र तरकारीहरू कसरी धुने र भान्साको स्वच्छतामा ध्यान दिनु पर्ने कुरा के के हुन् ?

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार फलफूल तथा तरकारीहरू धुने विधि अन्य कुनै परिस्थितिमा जस्तै नै हो, बस यहाँ स्वच्छतालाई ध्यानमा राख्नु आवश्यक छ । कुनै फल वा तरकारीहरू छुनु अघि आफ्नो हात साबुन पानीले धुनु जरुरी छ । त्यस पश्चात् स्वच्छ पानीको प्रयोग गरेर फलफूल तथा तरकारीहरू धुनु पर्दछ विशेष गरी यदि तपाईँ तिनीहरूलाई कच्चा खानुहुन्छ भने ।

खाना बनाउनुभन्दा पहिला र खाना बनाउँदै गर्दा हात धोइरहनु जरुरी हुन्छ । भान्सा, चुलो र भाँडा राम्रोसँग धुनुहोस् र स्यानिटाइज्ड गरिरहनु पर्दछ । मासु, अण्डा र माछाको मासुजस्ता खानेकुरालाई छुट्टै राख्नु पर्दछ । खानेकुरा राम्रोसँग पकाउनु पर्दछ, विशेष गरी मासु र अण्डा राम्रोसँग पकाउनु जरुरी हुन्छ । खानेकुरा बानाउदा कम्तीमा ७० डिग्री तापक्रममा बनाउनु उचित हुन्छ । राम्रोसँग खाना पकाउँदा सूक्ष्मजीवहरू पूर्णरुपमा नष्ट हुन्छन् । खाने बानाउदा अथवा खादा प्रयोग गरिने भाडा, चक्कु, कटिङ बोर्डजस्ता वस्तुहरूमा कुनै किसिमको सम्पर्क नहोस् भन्ने ध्यान दिनु जरुरी हुन्छ ।

कोभिड–१९:नियमित सफाइ र घरहरूको कीटाणुशोधन को लागी सामान्य सिफारिशहरु:

परिवारका सदस्यहरूले बारम्बार छुने सतहहरू जस्तै टेबल्हरु, लाइट स्विचहरू, ह्यान्डलहरू र शौचालयहरू कीटाणुनाशकको सहायताले नियमित सफाइ गर्नु जरुरी रहेको छ । हामीले घर आँगन कीटाणुशोधन गर्दा सावधानी अपनाउँदै ग्लोभ्स र मास्क अनिवार्य रूपमा लगाउनु पर्दछ । साबुन र पानी या ब्लिचको प्रयोगले कुनै पनि सतह वा वस्तुको सफाइ सजिलै गर्न सकिन्छ । त्यस पश्चात् सतहहरूमा रहेका कीटाणुहरू मार्न घरेलु कीटाणुनाशकको प्रयोग गर्नु उचित रहन्छ । आफ्नो घरको इलेक्ट्रोनिक्स उपकरणहरूको पनि सरसफाइ गर्न बिर्सनु हुँदैन ।

कोभिड–१९:सङ्क्रमित व्यक्ति रहेको घरहरूको नियमित सफाइ र कीटाणुशोधन को लागी सामान्य सिफारिशहरु:

सर्वप्रथम त घरका सदस्यहरूले स्वयंलाई कोभिड–१९ र यसको सङ्क्रमण, लक्षण र सङ्क्रमण प्रसार हुन नदिनका लागि अपनाउनु पर्ने उपायका बारेमा सचेत गराउनु जरुरी हुन्छ ।परिवारका सदस्यहरूले बारम्बार छुने सतहहरू जस्तै टेबल्हरु, लाइट स्विचहरू, ह्यान्डलहरू र शौचालयहरू कीटाणुनाशकको सहायताले नियमित सफाइ गर्नु जरुरी छ ।

सम्भव भएसम्म, बिरामी व्यक्तिलाई शौचालय भएको एउटा छुट्टै कोठामा राख्नु जरुरी छ र उनीहरूलाई घरका अन्य व्यक्तिहरूबाट टाढा राख्नुपर्दछ । यदि छुट्टै शौचालय उपलब्ध छैन भने, बिरामी व्यक्तिले प्रत्येक प्रयोग पश्चात् शौचालय सफा र कीटाणुमुक्त गर्नुपर्छ। सतहहरू सफा गर्ने र कीटाणुरहित गर्दा डिस्पोजेबल ग्लोभहरूको प्रयोग गर्नुपर्छ ।

सङ्क्रमित व्यक्तिले प्रयोग गरेका लुगा छुने र धुने क्रममा डिस्पोजेबल ग्लोभहरूको प्रयोग गर्नुपर्छ । बिरामीले प्रयोग गरेका कपडा र तौलिया छुट्टै धुनुपर्छ । बिरामीको कपडा र तौलिया आफ्नो शरीरको सम्पर्कमा लगाउनु हुँदैन, तिनीहरूलाई एक चुहावट प्रुफ कन्टेनरमा राख्नुपर्छ। सङ्क्रमित व्यक्तिको ठोस उत्सर्जन (जस्तै मल वा बान्ता) कुनै ठोस वस्तुले स्क्रपे गर्नुपर्छ । स्क्रपे गरिएको उत्सर्जनलाई सङ्क्रमितले प्रयोग गर्ने शौचालयमा डिस्पोज गर्नुपर्छ अथवा एक चुहावट प्रुफ कन्टेनरमा ढक्कन लगाएर प्रबन्ध मिलाइएको स्थान वा शौचालयमा लगेर डिस्पोज गर्नुपर्छ । सङ्क्रमित व्यक्तिको लुगा, धुने डिटर्जेंटको सहायताले वाशिङ मेसिनमा कारीब ६० देखी ९० डिग्री तापक्रममा धुनु जरुरी छ । वाशिङ मेसिन नभएको खण्डमा, सोही कपडाहरूलाई तातो पानी र लुगा धुने डिटर्जेंटको सहायताले एक चुहावट प्रुफ कन्टेनर राखेर धुनु पर्दछ । धुने क्रममा चलाउन एक लामो छडी को उपयोग गर्नुपर्छ भने चलाउने क्रममा पानी छ्याप्नु या छिटा पार्नु हुँदैन । धोई सके पश्चात् लुगा लाई राम्रो सँग घाममा सुकाउनु पर्दछ र अन्त्यमा आफ्नो हात साबुन पानीले राम्रो सँग ४०-६० सेकेन्डसम्म धुनु पर्दछ । 

स्वच्छता, सरसफाइ र फोहोर व्यवस्थापनका अभ्यासहरूले घर र समुदायमा कोभिड–१९ र अन्य कुनै रोग अथवा सङ्क्रमण को प्रसार कम गर्नुको साथै रोकथाममा पनि ठुलो भूमिका निर्वाह गरेको हुन्छ

श्रोत: डब्लुएचओ, यूनिसेफ