Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

गैरसरकारी संस्था : दर्ता धेरै, नवीकरण थोरै

ज्ञानमाण्डू।बाँकेमा एक हजार ६२१ गैरसरकारी संस्था (गैसस) दर्ता छन् । दर्ता भएका गैससमध्ये नियमित नवीकरण गर्नेको सङ्ख्या न्यून रहेको जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्याङ्क छ । सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार यस वर्ष नवीकरण गर्ने गैरसरकारी संस्थाको सङ्ख्या १८५ अर्थात् ११ दशमलव ४१ प्रतिशत मात्रै छ । 

यसले दर्ता भएका अधिकांश गैरसरकारी संस्थाले कानुन अटेरी गरिरहेको देखाउँछ । कानुन बमोजिम सञ्चालन इजाजत लिएपछि गैससले बर्सेनि नवीकरण नगरेर कानुन अटेरी गरिरहेका छन् । सरकारी निकायको साझेदार र सहयोगीका रूपमा स्थापित हुने गैरसरकारी संस्थाहरूको मुख्य काम सामाजिक अभियानमार्फत नागरिकहरूलाई अधिकार र कर्तव्यको बारेमा बोध गराउने र समाजमा रहेका विभिन्न खाले समस्या समाधानका लागि सहकार्य गर्नु हो । 

सामाजिक कार्य गर्ने विभिन्न उद्देश्य राखेर जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्था दर्ता हुने गर्छन् । धेरै संस्थाहरू विभिन्न अपेक्षा राखेर दर्ता हुने र उद्देश्यअनुसारको कार्य गर्न नसक्ने, बिचैमा संस्था बन्द हुने, नियमित साधारण सभा नगर्ने, नवीकरण नगर्ने समस्या रहेको सहायक प्रजिअ उपाध्यायले बताएका छन् । आन्तरिक स्रोत, साधनको सदुपयोग गर्ने र स्रोतबिना पनि विभिन्न सामाजिक कार्य गर्नु गैससको कर्तव्य भएको पनि उनले बताए । 

सामाजिक अभियान सञ्चालन गरी समाज रूपान्तरण गर्ने र अभियानमार्फत नागरिक अधिकारका बारेमा बोध गराउने, नागरिक सशक्तीकरण गर्ने, जागरण ल्याउने उद्देश्यका साथ गैरसरकारी संस्था दर्ता हुने गर्छन् । सहायक प्रजिअ उपाध्यायले भने , “कतिपय संस्थाहरू परियोजना भएसम्म काम गर्ने र स्रोत तथा परियोजना सकिएपछि बन्द हुने गरेका छन्, कतिपय दर्ता भएदेखि एक पटक पनि नवीकरण नगर्ने संस्थाहरू पनि छन् ।” 

स्रोतको खोजी गरी काम गर्न नसक्दा र कतिपय गैससका व्यक्तिहरू नै जिल्ला बाहिर जानुले पनि नियमित नवीकरण हुन नसकेको उनको भनाइ छ । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका धेरै गैरसरकारी संस्थाहरू अहिले क्रियाशील छैनन् । प्रशासन कार्यालयमा दर्ता हुने, नवीकरण पनि नगर्ने र बन्द भएको तथ्याङ्क पनि नहुँदा दर्ता भएका गैससको सङ्ख्या बढी देखिने गरेको गैससकर्मीहरुको भनाइ छ । 

गैरसरकारी संस्था महासङ्घ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले पछिल्लो समय गैरसरकारी संस्थाहरूलाई काम गर्ने उचित वातावरण नभएका कारण धेरै गैससहरु पलायन तथा बन्द हुने अवस्थामा पुगेको बताएका छन् । मुलुकमा सङ्घीयता आएसँगै सरकारले गैससमैत्री वातावरण बनाउन नसकेको र गैरसरकारी संस्थाहरूको भूमिकालाई कमजोर बनाउन खोजेको अध्यक्ष शाहको भनाइ छ । 

“गैरसरकारी संस्थाहरूलाई काम गर्ने वातावरण नहुँदा र काम गर्न स्रोत, साधन नहुँदा गैरसरकारी संस्थाहरूको नवीकरणको सङ्ख्या हरेक वर्ष घट्दै गएको हो,” अध्यक्ष शाहले भनेका छन् । गैरसरकारी संस्था दर्ता ऐन २०३४ अनुसार गैसस, निजी क्षेत्र, उद्योग वाणिज्य सङ्घ, मठमन्दिर गुठी, उपभोक्ता समूहसमेत दर्ता हुने प्रावधानले पनि गैससको सङ्ख्या धेरै देखिने बताउँदै ऐनलाई सुधार गर्न जरुरी रहेको गैससकर्मीहरुको धारणा छ । 

सरकारी निकायहरूले गैससको क्षमता विकासका लागि कुनै पहल नगरेको, गैससमैत्री ऐन कानुन तथा नीति तर्जुमामा ध्यान नदिएको गैससकर्मीहरु बताउँछन् । गैरसरकारी संस्थाहरूलाई गैरनाफामूलक, सामाजिक संस्था भन्ने गरिन्छ । बजेट भए पनि नभए पनि नियमित रूपमा सामाजिक कार्य गर्नु गैससको भूमिका हुन्छ । समाज र नागरिकहरूको समस्या, आवश्यकता, चासो र स्थानीय सरोकारका सवालमा सामाजिक अभियान चलाउनु पनि गैससको भूमिका हो । 

तर नेपालमा पछिल्लो समय गैससले ती भूमिका निर्वाह गरेको देखिँदैन । हरेक वर्ष गैससहरु जिल्ला प्रशासन कार्यालयमा नवीकरण हुनपर्ने, आन्तरिक राजश्व कार्यालयबाट करचुक्ताको प्रमाणपत्र लिनुपर्ने र सम्बन्धित स्थानीय तहमा सूचीकृत हुनुपर्ने कानुनी व्यवस्था भए पनि धेरै गैससहरु नियमित नवीकरण हुँदैनन् । धेरै गैससहरुले मनोमानी ढङ्गले कानुनको अटेरी गरिरहेको देखाउँछ । 

सरकारी निकायको उदासीनताकै कारण गैससहरुको मनोमानी बढिरहेको छ । वार्षिक साधारण सभा, नियमित अधिवेशन र नियमित नवीकरण नगरेको तथ्याङ्कले बताए पनि नवीकरण नै नभएका कतिपय संस्थाहरूले काम गर्दै आएको देखिन्छ । स्रोत पाए काम गर्ने नवीकरण गर्ने र स्रोत नभएमा चुप लागेर बस्ने गरेको पनि कतिपय गैरसरकारी संस्थाहरूको कामले देखाउँछ । 

जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएका गैसस र नवीकरण भएका गैससहरुको सङ्ख्यालाई हेर्दा यिनीहरूको वैधानिकतामाथि प्रश्न चिह्न उठ्न सक्छ । सामाजिक कार्य गर्ने उद्देश्य बोकेर दर्ता भएका गैरसरकारी संस्थाहरूले कानुन र विधिको पालना गर्ने र नियमन गर्ने निकायले नियमनकारी भूमिका निभाउन जरुरी रहेको गैससकर्मीहरुको भनाइ छ ।रासस