Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नयाँ पर्यटकीय गन्तव्य : बैठौलिया कपरकट्टी ताल

ज्ञानमाण्डू।नयाँ पर्यटकीय गन्तव्यमा बुटवल उपमहानगरपालिका–१६ मा रहेको बैठौलिया कपरकट्टी ताल थपिएको छ । तालमा बिहीबारदेखि डुङ्गा सञ्चालनमा ल्याइएको छ । 

प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले बिहीबार शुभारम्भ गर्दै प्रदेशका पर्यटकीय गन्तव्यको विकासका लागि भ्रमण संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए । मन्त्री पोखरेलले भने ,“ विदेशी पर्यटक भित्र्याउने भन्दा नेपालका नागरिक नेपालमै घुम्ने संस्कृतिको विकास भए पर्यटन प्रवर्द्धनमा टेवा मिल्ने छ ।”

मुख्यमन्त्री पोखरेलले पर्यटक भित्र्याउन पर्यटन मैत्री संस्कृतिको विकास गर्न जरुरी रहेको र पर्यटनबाटै प्रदेशको समृद्धिको सपना साकार हुने धारणा व्यक्त गरे  । “सहरमा मौलिक संस्कृति हराउँदै गए पनि गाउँमा सांस्कृतिक मौलिकता बाँचिराखेको छ, यो नै पर्यटकको रोजाइ हुनसक्छ”, उनको भनाइ छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कपरकट्टी ताललाई त्यस क्षेत्रका पर्यटकीय र ऐतिहासिक क्षेत्रसँग जोडेर विकास गर्ने योजना बनेको बताए । चालू आवमा रु ४० लाख बजेट छुट्ट्याएर तालको सरसफाइ गरिएको जानकारी गराउँदै उहाँले अन्य पर्यटकीय पूर्वाधार विकासको कामलाई समेत प्राथमिकता दिने जानकारी दिए । 

अतिक्रमणमा परेर सुरुमा सात बिघा क्षेत्रमा खुम्चिएको क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको छ । झन्डै दुई किलोमिटर लामो र करिब ३०० मिटर चौडाइमा फैलिएको तालको गहिराइ करिब पाँच मिटर छ ।

नील दहका नामले चिनिने र स्थानीय थारू समुदायले थकाइ मेट्नका लागि आएर बस्ने यो ताल क्षेत्र झन्डै सय वर्ष पुरानो मानिन्छ । ओझेलमा परेको यो ताललाई बुटवलमा जनप्रतिनिधि चुनिएपछि व्यवस्थित गरिएको हो । सिमसार क्षेत्रको यो ताललाई उपमहानगरपालिकाले बुटवलको अमूल्य सम्पदा मानेर प्राथमिकता साथ संरक्षण गर्दै अहिले पर्यटकीय गन्तव्य बनाएको छ । 

सात बिघाबाट करिब २४ बिघा क्षेत्रफलमा विकास गरिएको झन्डै डेढ किलोमिटर लामो ताललाई थप आकर्षक बनाउने गरी योजनाबद्ध कामको थालनी गरिएको उपमहानगरका प्रवक्ता अध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिए ।

एकीकृत शहरी विकास योजनामा यहाँको पर्यटकीय क्षेत्र, सांस्कृतिक सम्पदाका क्षेत्र एवं कृषियोग्य जमिन र आवासका लागि अलग–अलग जमिनको वर्गीकरण गर्दै आकर्षक गन्तव्यका रूपमा विकास गर्न लागिएको प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए । 

बुटवलका पर्यटकीय क्षेत्रका रूपमा जितगढी, मणिमुकुन्द सेन दरबार भग्नावशेष क्षेत्र, हिलपार्क, पिसपार्क, मिलनपार्क, नरैनापुरसँगै अब यो प्राकृतिक ताललाई पनि जोडेर एकीकृत पर्यटन विकासका काम अगाडि बढाएको छ । यी सबै क्षेत्रलाई जोड्ने गरी बुटवलले बुटवल चक्रपथ निर्माणको काम तीव्र भइरहेको शहरी विकास महाशाखा प्रमुख तथा वरिष्ठ इञ्जिनीयर सुमन श्रेष्ठले जानकारी दिए । उनले निजी क्षेत्रको समेत सहकार्यमा नयाँ कार्यक्रमको तयारी भइरहेको बताए । 

ताललाई भविष्यमा आन्तरिक र बाह्य पर्यटकको आकर्षणको थलो बनाउँदै बुटवलको जितगढी किल्ला, नुवाकोट, सिद्धबाबा र हिलपार्कसँग जोडेर पर्यटकको बसाइँ लम्ब्याउने योजना रहेको उपमहानगरका उपप्रमुख गोमादेवी आचार्यले जानकारी दिए । तालमा ताल परिसरमा वनहाँस, वनकुखुरा, सिमकुखुरा र जलेवाजस्ता चराचुरुङ्गीसमेत पाइन्छन् । ताल संरक्षण समिति अध्यक्ष खेमलाल कँडेलले स्थानीय तहसँग समुदायले सहकार्य गरेर थप आकर्षक कार्यक्रम तय गरिने र व्यस्त सहरका मानिसलाई मन लोभ्याउने ठाउँका रूपमा विकास गरिने बताए ।

नजिकै रहेको नरैनापुरधाममा रहेको शिवलिङ्गलाई काठमाडौँको पशुपतिनाथसँग तुलना गर्ने गरिन्छ । धाम परिसरमा भ्यूटावर, नजिकै खेलमैदान बनाउने उपमहानगरको तयारी छ । नरैनापुर क्षेत्रलाई बुद्धकालीन ऐतिहासिक क्षेत्र पनि मानिन्छ । यहाँ बुद्ध खेल्दै र डुल्दै आउने गरेको बताइन्छ । यहाँ प्राचीनकालदेखि परम्परागत शिवरात्री मेला लाग्दै आएको छ । नरैनापुर धाम हिन्दु अनुयायीहरुको एउटा पवित्र तीर्थस्थल हो । यहाँ देश विदेशका हिन्दु धर्मावलम्बीहरुको हरेक वर्ष शिवरात्री र साउनमा घुइँचो लाग्ने गर्दछ । नरैनापुरधामको मेलामा भारतको पटना, बिहार, गोरखपुर, लुधियाना र नेपालको तराईका अधिकांश जिल्लाबाट शिवरात्रिमा भक्तजन आउने परम्परा छ ।

उपमहानगरले यो क्षेत्रलाई शान्त र रमणीय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने पर्यटनविज्ञ बताउँछन् । बुद्धावलीअन्तर्गत रहेका बुटवलसहित सैनामैना, देवदह, नौकट्टीलाई समेत जोडेर एकीकृत पर्यटन विकास गर्न सकिने सम्भावना छ । रासस