Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

बर्सेनि पहिरोकै पिरलो, वर्षाले झनै जोखिम बढायो

ज्ञानमाण्डू।मनसुन सक्रिय भएसँगै बैतडीका विभिन्न स्थानका नागरिकलाई पहिरोको पिरलो हुन थालेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–६ डोलमा करिब ६० वर्षदेखि पहिरो खस्न थालेको भए पनि रोकथामका लागि केही पहल नहुँदा उक्त क्षेत्रका नागरिकलाई बर्सातको समयमा हरेक वर्ष चिन्ता हुने गरेको छ । 

विसं २०१८ देखि शुरु भएको पहिरोले नौ जनाको ज्यान लिएको तथा २०० रोपनी खेत बगाइसकेको छ । अहिले पनि पहिरोले खेत बगाउने क्रम जारी छ । तत्कालीन राजा वीरेन्द्रले डोल बस्ती स्थानान्तरणका लागि हुकुमप्रमाङ्गी दिएको भए पनि राजनीतिक खिचातानीले बस्ती स्थानान्तरण हुन नसकेको स्थानीयवासी वीरसिंह भण्डारीले बताए । 

ठूलो पहिरो भएकाले हरेक वर्ष खस्ने गरेकाले पहिरोले बर्सेनि सताउने गरेको स्थानीय भोजराज जोशीले बताए । “कमेरोयुक्त माटो भएकाले पहिरो नियन्त्रणमा आउन सकेको छैन”, जोशीले भने , “वर्षा शुरु भयो कि पहिरोकै डर हुने गर्दछ ।” 

पहिरोकै कारण घर भत्कने अवस्थामा पुगेको स्थानीय लोगसिंह भाटले जानकारी दिए । भाटले भने , “आँगन नजिकैबाट पहिरो गएकाले निकै डर लाग्ने गर्दछ ।” अहिले पनि २०–२५ परिवार पहिरोको जोखिममा रहेका भाटको भनाइ छ । 

यस्तै पुर्चौंडी नगरपालिका–८ लामुनी पहिरोको सास्ती पनि उस्तै छ । पहिरोले प्रत्येक वर्ष नोक्सानी गर्ने गरेको स्थानीय गणेश साउदले जानकारी दिए । पहिरोका कारण खेतीयोग्य जमीन प्रत्येक वर्ष बग्दै गएको छ । साउदले भने , “पहिरो नियन्त्रणका लागि करिब रु दुई करोड खर्च भइसकेको भए पनि पहिरोमुनि तटबन्ध निर्माण गरेको हुँदा तटबन्ध पनि पहिरोले बगाउने गरेको छ ।” 

यस्तै मेलौली नगरपालिकाको विशालपुरमा पनि पहिरोको जोखिम रहेको स्थानीय महेश भट्टले जानकारी दिए । भट्टले भने, “पहिरोका कारण प्रत्येक वर्षामा स्थानीयवासी डरमै बस्नुपर्ने अवस्था छ ।” 

वर्षा शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढ्दै गएको स्थानीयवासीले बताएका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार बैतडीका आठ स्थानीय तहमा पहिरोको उच्च जोखिम छ तर पनि धेरै स्थानीय तहहरुले विपद् व्यवस्थापन योजना बनाउन सकेका छैनन् ।रासस