Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

१५० सङ्क्रमित थपिए, ६०९ ‘डिस्चार्ज’

ज्ञानमाण्डू।नेपालमा पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना भाइरस देखिएको छ । विभिन्न २७ प्रयोगशालामा गरिएको तीन हजार ९६३ नमूना परीक्षणमा १५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ९९४ पुगेको छ । 

आज सबैभन्दा बढी धनुषामा २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा नौ सङ्क्रमित थपिएका छन् । यस्तै कञ्चनपुरमा २०, महोत्तरीमा १४, दैलेखमा १०, काठमाडौँ र उदयपुरमा आठ/आठ, चितवन र मकवानपुरमा पाँच/पाँच, बझाङ र डोटीमा चार/चार, मोरङ, गोरखा, म्याग्दी, स्याङ्जा, बागलुङ, बाँके, सर्लाही, दाङ र कैलालीमा तीन/तीनजना सङ्क्रमित थपिएका छन् । 

यस्तै झापा, इलाम, पर्सा, रामेछाप र सल्यानमा दुई/दुई तथा सप्तरी, काभ्रेपलाञ्चोक, कैलाली, नुवाकोट, ललितपुर, नवलपरासीमा एक/एक सङ्क्रमित थपिएका छन् । हालसम्म तीन लाख २३ हजार ८३५ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको छ । क्वारेन्टिनमा २१ हजार ७०४ र आइसोलेशनमा पाँच हजार ४७७ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुक्त भएर ६०९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म १२ हजार ४७७ जना कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् । जुन कूल सङ्क्रमितको ६९.३४ प्रतिशत हो । अहिले पनि मुलुकका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा पाँच हजार ४७७ जना सक्रिय सङ्क्रमितको उपचार भइरहेको प्रवक्ता  गौतमले जानकारी दिए । प्रदेश नं २ को रौतहट तथा सुदूरपश्चिम प्रदेशको कैलाली र बाजुरामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । 

सात जिल्ला कोरोनाको सक्रिय सङ्क्रमित मुक्त भएका छन् । प्रदेश नं १ को भोजपुर, पाँचथर, धनकुटा र सङ्खुवासभा, वाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाको सक्रिय सङ्क्रमित छैनन् । विश्वमा हालसम्म एक करोड ४८ लाख ६६ हजार ३९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये छ लाख १३ हजार ५५० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।रासस