Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

किसानलाई अलैँचीको चटारो, उत्पादन बढ्यो, भाउ छैन

ज्ञानमाण्डू।बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी नपरेका) ले अहिले अलैँची टिप्न उपयुक्त भएको किसानको भनाइ छ । गएका वर्षामा यो सिजनमा पानी परेकाले अलैँची कुहियो । तर, यो वर्ष घाम लागेकाले समस्या छैन । किसानका अनुसार यो वर्ष उपयुक्त मौसम भएकाले अलैँचीमा उल्लेखीय फल देखिएको छ ।

रोग नदेखिएको र अलैँची राम्रो पाकेकाले उत्पादन दोब्बर हुने अनुमान रहेको माइजोगमाईस्थित मलुमझुवाका किसान राम आचार्य बताउछन् । आचार्यका अनुसार यो वर्ष वैशाखदेखि असारसम्म अलैँचीलाई आवश्यक पर्ने पानी परेकाले उत्पादन बढेको हो । “भार्लाङ जातको अलैँची राम्रो फलेको छ”, आचार्यको भनाइ छ । 

विगतका वर्षमा रोगले शिथिल बनाए पनि यस वर्ष अलैँचीमा रोग देखिएको छैन । “टिप्ने र छोडाउने काम एकैचोटी चलेको छ । उत्पादन बढेको छ”, आचार्यको भनाइ छ । गत वर्ष छ मन (एक मनमा ४० किलो) भएकामा यस वर्ष १० मन अलैँची हुने आचार्यको अनुमान छ । उत्पादन बढे पनि अलैँचीको भाउ नआएकाले किसान निराश छन् । खेती प्रविधिमा सुधार गरेर किसानले अलैँचीको उत्पादन बढाए पनि विगतका वर्षमा भन्दा यस वर्ष भाउ खुम्चिएको छ । 

कोरोनाले समस्यामा पारेकाले अलैँचीको प्रतिमन रु ३० हजार पुग्न सकेको छैन । खेतबारीको अधिकांश भागमा अलैँचीखेती नै लगाएकाले बजार मूल्यमा नै बेच्न बाध्य हुनुपरेको माइजोगमाई–१ नयाँबजारका किसान धर्म भट्टराई बताउछन् । अलैँचीको तालिमपछि आफूले खेतीमा सुधार ल्याए पनि कम मूल्यमा अलैँची तौलिनुपरेको भट्टराईको दुखेसो छ । 

भट्टराईको यस वर्ष मात्रै १५ मन अलैँची उत्पादन हुने अनुमान छ । तर भाउ रु २० हजारकै अुनपातमा भएकाले आम्दानी धेरै नहुने उहाँ बताउछन् । विगतका वर्षमा अलैँची कम उत्पादन हुँदा अलैँचीको भाउ प्रतिमन रु एक लाखसम्म पुगेको थियो तर अहिले भाउ घटे पनि किसानले अलैँची खेती गर्न छाडेका छैनन् । किसानको उल्लेखीय आम्दानी दिने बालीमा पर्ने अलैँचीमा अन्य खेतीको तुलनामा लागत कम पर्छ । त्यसैले वर्षेनी भाउ घटे पनि अलैँचीको उत्पादनमा गिरावट नआउने गरेको रोङ गाउँपालिकाका किसान कुमार मोक्तान बताउछन् । गएका वर्षमा पाँच मन हाराहारीमा अलैँची उत्पादन गरेका मोक्तानको यस वर्ष आठ मन हुने अनुमान छ । 

दशकअघि पनि अहिलेजस्तै अलैँची उत्पादन हुन्थ्यो तर बीचका केही वर्ष मासिएपछि सशङ्कित हुँदै किसानले अरू खेतीमा प्राथमिकता दिएका थिए । अहिले भने फेरि किसान अलैँचीमै लागेका छन् । विभिन्न सङ्घसंस्था र स्थानीय सरकारले अलैँचीमा प्रविधि र तालिम ल्याएपछि किसान अलैँचीमा लागेका अलैँची व्यवसायी सङ्घका केन्द्रीय सचिव मातृका घिमिरे बताउछन् । 

सीमामा सकस: 

कोरोनाले नेपालका सीमावर्ती क्षेत्रमा सिल भएपछि अलैँची निर्यातमा समस्या छ । पूर्वी क्षेत्रको मुख्य भन्सार मेची भन्सार काँकडभिट्टा क्षेत्रमा सिल भएकाले अलैँची निर्यातमा सकस परेको व्यवसायीको भनाइ छ । महामारीले भारतीय बजार छिटपुट मात्रै खुला छन् । सदाजस्तो खुला नभएकाले थोरै परिमाणमा मात्र अलैँची निर्यात भइरहेको अलैँची व्यवसायी सङ्घका सचिव मातृका घिमिरेले बताए । 
नेपालबाट जाने अलैँची भारत भएर नै तेस्रो मुलुक जान्छ । केही समयअघि भारतले अघोषित नाकाबन्दी गरेकाले १४ दिनसम्म अलैँचीलगायत कृषिजन्य पदार्थ नेपालतर्फ थन्कियो । यस्ता समस्या वर्षैपिच्छे आउँदा ठूलो रकम चुना लाग्ने गरेको व्यवसायीको भनाइ छ । व्यवसायी घिमिरेका अनुसार भारतले नेपाली अलैँचीको गुणस्तर घटाउन अनेक तिकडम लाउने गरेको छ । नेपाल सरकारको पहल उचित नहुँदा नेपाली अलैँचीको गुणस्तर विश्व बजारमा पुर्‍याउन नसकिएको घिमिरेको भनाइ छ । 

नेपाली अलैँचीको गुणस्तर अन्य ठाउँको भन्दा राम्रो हुँदा पनि कम मूल्यमा बेच्नुपरेकाले राष्ट्रलाई आम्दानीमा घाटा परेको घिमिरेको भनाइ छ । आव २०७६/७७ मा ५० लाख १२ हजार ६९४ किलो अलैँची नेपालबाट निकासी भएको वैदेशिक रोजगार तथा प्रवर्द्धन केन्द्रको तथ्याङ्क छ ।रासस