Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

कसले किन्छ र त्यति महँगो चिज !


ज्ञानमाण्डू। अचानक घर जानुपरेकाले हतारमा थोरै मात्र सामानहरू लिएर आएको थिए। चुनाव अगाडिसम्म व्यस्तताले गर्दा पनि घर जाँदा लग्नु पर्ने सामानहरू मिलाउन पाएको थिइन त्यसैले पनि धेरै कुराहरू बिर्सिएछु। म घर पुगेकै दिन मलाई रजस्वला सुरु भयो। साह्रै गर्मी भएकाले किन्न जानको लागी पनि गाह्रो भयो र मैले हाम्रो घरसँग जोडिएको एक जना छिमेकी दिदीलाई स्यानिटरी प्याड माग्न भनेर उहाँकै घरमा गएँ। "दिदी हजुरसँग प्याड छ भने मलाई एउटा दिनुस् न म पछि किनेर दिन्छु" भनेर माग्दा दिदीले दिनुभएको जवाफले मलाई स्तब्ध बनायो। "त्यति महँगो चिज हामीले कहाँबाट प्रयोग गर्न सक्नु नानु, म त पुरानो कपडा प्रयोग गर्छु।" त्यसपछि मैले त्यहाँ भएका अन्य महिलाहरूलाई सोध्दा खेरि सबैको जवाफ लगभग त्यही दिदीको जस्तै पाए।

महिलाहरूको प्रजनन स्वास्थ्यबारे कसैलाई खास चासो छैन। यो त कुनै विषय नै होइन हाम्रो समाजको लागि। स्यानिटरी प्याड, रजस्वला हुँदा ख्याल गर्नुपर्ने कुराहरू, यस्तो बेला हुने गाह्रो अप्ठ्यारोका विषयमा कहिल्यै पनि हाम्रो परिवार, छरछिमेक र विद्यालयहरूमा छलफल हुँदैन जुन एकदमै दुखदायी कुरा हो। स्यानिटरी प्याडलाई यस अघि विलासी वस्तुहरूमा राखिएको थियो र स्यानिटरी प्याड मा १५% कर लाग्थ्यो । अहिलेको बजेट अनुसार करलाई परिमार्जित गरेर १.५% बनाइएको छ । अर्थात् आयात गरिने प्याडहरूमा ९०% भन्सार महसुल छुट गराइयो तर स्यानिटरी प्याड को कच्चा पदार्थको आयात, उत्पादन र प्याकिङको महसुल गरेर लाग्ने ६% करले आयातित वस्तुको मूल्य भन्दा उत्पादन हुने वस्तु झन् महँगो हुने, गुणस्तरको ख्याल नहुनेका साथै स्वदेशी उद्योगहरू र त्यहाँ काम गर्ने कर्मचारीहरू लगायत सम्बन्धित सबै मर्कामा पर्ने देखिन्छ।

स्रोतका अनुसार नेपालमा साना ठुला गरेर ३५ वटा स्यानिटरी प्याड उद्योगहरू रहेका छन् जसको उत्पादन क्षमता ९० करोड थान रहेको छ। तर बजारमा यसको माग भने ३० करोड थान मात्र रहेको छ अर्थात् स्यानिटरी प्याडको प्रयोग गर्ने महिलाहरूको सङ्ख्या निकै कम रहेको छ। बजारमा स्यानिटरी प्याडको सुरुवाती मूल्य भनेकै प्रति प्याकेट ६० रुपैयाँ देखि रहेको छ, जुन नेपालको हकमा एकदमै महँगो हो र स्यानिटरी प्याडको बारेमा थाहा भएका महिलाहरूले पनि मूल्य कै कारण प्रयोग गर्न नसकेको देखिन्छ। महिनै पिच्छे प्याड प्रयोग गर्न सक्ने सबैको आर्थिक क्षमता हुँदैन अज झन् बेरोजगार महिलाहरूका लागि त यो परको कुरा हो। कतिपय ठाउँमा त स्यानिटरी प्याडका बारेमा जानकारी समेत छैन।

फोहोर कपडाको प्रयोगले गर्दा पाठेघरमा सङ्क्रमण हुने प्रबल सम्भावना हुन्छ भने कतिपय अवस्थामा त ज्यानै जाने जोखिम समेत हुन्छ । तर यस विषयमा न कसैको चासो छ न त पर्याप्त जागरूकता नै। स्याानिटरी प्याडहरू वैज्ञानिक तवरले महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर उत्पादन हुने हुदा स्वास्थ्य को दृष्टिकोणले जोखिम मुक्त र स्वच्छता प्रवर्द्धन गर्ने खालका हुन्छन् । स्याानिटरी प्याड सम्बन्धी जनचेतनाको कमी भएको, फोहोर कपडाको प्रयोग गर्ने, महिलाहरूको प्रजनन स्वास्थ्यबारे खासै चासो नराख्ने परिपाटी भएको हाम्रो समाजमा स्याानिटरी प्याड सबै महिलाको पहुँचमा पुर्‍याइ यसको प्रयोग गराउन निकै कठिन छ। तसर्थ हरेक महिना महिलाहरूमा हुने रजस्वलाको अवधिमा प्रयोग गर्ने स्यानिटरी प्याडको उत्पादन तथा वितरणलाई सहज र सुलभ अझ सकेसम्म निःशुल्क उपलब्ध गराइनुपर्दछ।

प्रत्येक व्यक्ति, परिवार, छरछिमेक, विद्यालय लगायत सम्बन्धित सबै सरोकारवालाहरूमा महिलाहरूको प्रजनन स्वास्थ्यबारे प्रभावकारी बहस, छलफल र त्यसलाई सुधारोन्मुख गर्नका लागि गर्नु पर्ने गृहकार्यको थालनी गर्न जरुरी छ। अझ महिला नै राष्ट्रपति भएको हाम्रो जस्तो मुलुकमा त यस्ता वस्तुहरू निःशुल्क बनाई हरेक ठाउँमा वितरण गरी सहज रूपमा उपलब्ध हुने वातावरण सृजना गर्न जरुरी छ।

लेखक कामना पाैड्याल सामाजिक कार्य तथा राजनीति शास्त्रको विद्यार्थी हुन् ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content